Saturday, December 19, 2015

बदला

Taha Muhammad Ali, a Palestinian poet.
–ताहा मुहम्मद अली

कहिलेकाहीँ ...म कामना गर्छु
भेट्न पाए हुन्थ्यो युद्धमा
त्यो मान्छे जसले मेरो बाबाको हत्या गरेको थियो
र हाम्रो घरलाई ध्वस्त पार्दै
निष्कासित गरिदिएको थियो मलाई
एउटा सानो देशमा
र यदि उसले मलाई मारिदियो भनेँ
म आराम पाउँथे अन्ततः
र यदि म तयार भए
म आफ्नो बदला लिने थिए ।

तर जब मेरो प्रतिद्वंदी प्रकट हुन्दा
यस्तो थाहा पायो भनेँ, कि
उसको एक आमा छ
उसको पखाईमा बस्ने
या एक बाबा छ जो राख्छ
आफ्नो दाहिने हात
आफ्नो छातिमा मुटु भएको त्यो ठाउँमाथि
भेट को लागि उनले तय गरेको समयमा
मात्रै केही पौने घण्टा जत्ति
जहिले उसको छोरो ढिलो आउँदा–
तेसो भए म उसको हत्या गर्दिन
मैले सक्ने भए पनि ।

यस्तै... म
उसको हत्या गर्ने छैन
यदि चाँडै यो प्रष्ट पारिन्छ भनेँ
कि उसको एक भाई वा बहिनीहरू छन्
जो उसलाई माया गर्छन् र निरन्तर भेट्ने आश गर्छन्
या उसलाई स्वागत गर्ने श्रीमती छिन्
र बच्चाहरू जो
उसको अनुपस्थितिलाई सहन सक्तैनन्
र जसलाई उसको उपहारले खुशी पार्ने गर्दछ
या यदि उसका छन्
साथी–सँगीहरू
छिमेकीहरू जसलाई ऊ चिन्दछ
या साथीहरू जेलका
या अस्पतलाको एकै कोठाका
या स्कूले दिनका सहपाठीहरू ...
उसको बारेमा सोध्दै
र पठाउँछन् उसलाई सलाम ।

तर यदि ऊ
अगाडि पछाडि कोही नभएको–
रुखबाट काटिएको एउटा हाँगा जस्तो
आमा या बाबा नभएको
साथै भाई वा बहिनी पनि नभएको
पत्नीविहीन, निःसन्तान
र नभएको कुनै भाईबन्धु, छिमेकी या साथीहरू
सहयोगी या सहकर्मीहरू
तेसो भए म उसको दुःखमा केही थप्ने छैन
त्यस एक्लोपनमा–
मृत्युको कष्ट थप्ने छैन
र मरेर जानुको दुःख पनि ।

बरु म खुशी हुने छु
उसलाई बेवास्ता गर्दा, जब उसको छेउबाट हिँड्दा
गल्लीतिर– र म
आफैलाई शान्त पार्ने छु
कि उसलाई ध्यान नदिनु पनि
आफैमा एकप्रकारको बदला हो ।

Transleted by : Chandra Gurung

मरूभूमि : एक मृगतृष्णा जीवन

BY : Chandra Gurung

अनुहारको क्यानभासमा
एक धर्सो मुस्कान कोरिएको छैन
गालामा हर्ष फुलेको छैन
रङ्गका सारा पुतली उडी गएको बगैँचाजस्तो
उजाड र खल्लो मरुभूमि !
चारैतिर
जीवन सुकिसकेका पातपतिङ्गर
यौवन सुम्सुम्याउन आउँछ हावाको शुष्क हात
उमङ्ग मरिसकेका सुनसान आँखा
भित्रभित्रै अग्लिरहेको एक्लोपनको हिमाल !
दिनैभरि
आँखा जुधाउँछ अल्लारे घाम
जिस्क्याइरहन्छ हावाहुरी
आफ्नो बैँसले कुनै बटुवालाई फकाउँला झैँ लाग्छ
हाउभाउले कुनैलाई लठ्ठ्याउँला झैँ लाग्छ
प्रेमिल अँगालोको पर्खाइमा
बाँचिरहेको एक बेहुली सपना !
यो मरूभूमि
छातीमा हरियो खजुरको बोट सजाउँदै
सिउरिँदै कानको चेपमा आत्मविश्वासी सिउँडी फूल
सामेल छ इच्छाहरूको क्याराभानमा
एक मृगतृष्णा जीवन !

मरम अल-मसरीका केही टुक्रा कविताहरू

मरम अल-मसरी सीरियाली कवि हुन् । मरम अल-मसरीका केही टुक्रा कविताहरू...

1.
मलाई लाग्यो
त्यो तिम्रो कदमको आवाज हो
मेरो मुटुमा भइरहेको
तेज धुकधुकी ।


2.
तिमी कति अलग छौ ती सबैभन्दा
तिम्रो विशेषता हो
तिम्रो ओँठमा बनेको
मेरो चुम्बन ।

3.
कोही खटखटाउँदै छ ढोका
को ?
सफा गरी गलैँचामुनि गरिदिन्छु
आफ्नो एक्लोपनको धूलो ।
एउटा मुस्कानको व्यवस्था गर्दै
खोली दिन्छु ढोका ।

4.
नूनको दानाझैँ
उनीहरु चम्किए
र गलेर गए ।
यसप्रकार हराएर गए
ती लोग्ने मान्छेहरू
जसले मलाई माया गरेनन् ।

5.
बाहिर अँध्यारोमा
म कापिरहेकी छु चिसोले
तिमी
किन खोल्दैनौ मेरो लागि
आफ्नो कमिजको ढोका ?

Translet By : Chandra Gurung 

देश

By : Chandra Gurung
 
आकाशको कौसीबाट
तुर्लुङ्ङ झुन्डिएको जूनको त्यो फुर्को
तिम्रो जीवनको अँध्यारो बाटोमा उज्यालो हिँड्छ
मेरा उराठ पलहरूमा खुशी मुस्कुराउँछ
त्यो तिम्रो पनि हो
त्यो मेरो पनि हो
सुन्दर जून जस्तै हो देश ।


घाम उकालो उक्लन्छ
घाम ओरालो ओर्लन्छ
तिमी आफ्नो मुटुमा घामको न्यानो भर्छौ
म एक किरण रोशनीले यी आँखा रङ्ग्याउँछु
उज्यालो र सुखद
सुनौलो घाम जस्तै हो देश ।

क्षितिजका टिलपिल ताराहरू
तिमी ती तारालाई मनमा आशा मानेर सजाउँछौ
म टीका बनाएर निधारमा राख्छु
आत्मीय र मायालु
चम्किलो तारा जस्तै हो देश ।

यी सेता हिमाल
तिमी आत्मविश्वासको प्रतीक मानेर ढोग्छौ
म साथको साथी मानेर पुज्छु
शान्त र गम्भिर
पवित्र हिमाल जस्तै हो देश ।

यो बतास
तिम्रो मनको डाँडाकाँडा खुशी बोक्दै आउँछ
मेरो जीवनको फाँटभरि सद्भावको कोशेली लिएर डुल्छ
सबको मन हर्ने
निश्छल बतास जस्तै हो देश ।

त्यो अँगालोमा
तिम्रो दुःखव्यथाको सारा संसार सजिलै अटाउँछ
मेरो जीवनभरिको थकान सिनित्त मेटिन्छ
सहृदयी मायाले बेर्ने
विशाल समुद्र जस्तै हो देश ।

यी फूलहरूमा
तिमी आफ्नो रगतको रंगले जीवन भर्छौ
म मेरो पसिनाले सौन्दर्य थप्छु
साझा फूलबारी, र
सुगन्धित फूल जस्तै हो देश ।

साथी,
तिम्रो आँसुमा रसाउने त्यो एकजोर बूढौली आँखा
मेरो खुशीमा फुल्ने त्यो चोखो अनुहार
मनको भित्तामा फ्रेमबद्ध
ममतामयी आमा जस्तै हो देश ।

Monday, November 30, 2015

मलाला युसुफजाइलाई अनुरोध

By:मनु लोहोरुङ्

ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,


ओ मलाला !
तिमीलाई थाहा छैन होला
तिम्रो बुर्का भन्दा केही फरक छैन
मेरो गाउँको संकीर्ण विचार
मेरो शहरको हिंस्रक कार्य,
मेरो समाजको अचेतना
तिम्रो बुर्काले त केवल
तिम्रो मुहारको सुन्दरता मात्रै छोपियो
तर संकीर्ण विचारले त
खोसिन्छन्,यहाँ इमान्दारका अवसरहरू
लुटिन्छन्, यहाँ गाउँमा गरिबीको पसिना
छोपिन्छन् यहाँ शहरमा ज्यादतीहरू


थाहा छ ? तिमीलाई कन्चटमा ताकेर
मार्न खोज्ने तालेवानी बिद्रोही भन्दा
कम खतरनाक छैन
मेरो अर्ध-चेत संस्कार
किन कि तिमी जस्तै
थुप्रै नारीहरूमाथि घरेलु हिंसा खनिन्छ
र यहाँ समाज निदाउछ
मेरो कानून बिक्छ = पैसामा
मेरो प्रसाशन बाँच्छ = गुण्डामा
मेरो न्याय लहसिन्छ = नेतामा
र सत्य साटिन्छ = नातामा

ओ मलाला !
तिम्रो आवाजहरू उज्याउन
मेरो रस्ती वस्तीमा पनि एक पटक जन्मिऊ न !
मेरो गाउँ ब्युँझियोस्
मेरो शहर झस्कियोस्
कि म चाहन्छु,
- प्रत्येक अँध्यारा गल्लीहरूमा
- शहरका चौक-डबलीहरूमा
- प्रत्येक अन्धो दिमागहरूमा
नारीको अस्मितामाथि
न्यायको हुंकार बोलियोस्,
बोलियोस्, परआत्मामाथि गरिने
कुठाराघातहरूमाथि निसाफ
अधिकार शक्तिमा बदलियोस्
न्यायको आभास बदलियोस

आडम्बरका महलहरूभित्र
उठाईका अधिनायक दिवारहरूबाट
निस्किउन् मानवीय चेतका गुञ्जनहरू

ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,
मेरो देशलाई................!

एउटा धूर्त बकुल्लो

By :चन्द्र गुरुङ

आँखाहरू बन्द छन्
अनुहारभरि फैलिएको छ मौनता ...
एक खुट्टामा उभिएर
ध्यानमग्न छ बकुल्लो ।


कति शान्त
कति सौम्य
कति शालीन
र, भद्र अनुहार ।

कुनै
तपस्यालीन साधु जस्तै
भजनको संगीतमा डुबेको भक्त जस्तै
मस्त आत्मा जस्तै ।

अभ्यस्त छौ
साथको अभिनय गर्न
गहिरो मित्रताको नाटक खेल्न
सद्भावको ढोँग रच्न ।

तर,
धेरै पटक देखेको छु
तिमीले ओठमा बोक्रे मुस्कान उमारेको
झारेको गोहीको आँसु
चुपचाप उभिन्छौ
मनमा कपटपूर्ण जाल बुन्छौ
पर्खी बस्छौ मायाप्रेमको आकाश फिँजाई
आफ्नो आहारा छोप्न ।

जहिले देख्छु
तिम्रो मुखमा कुनै निर्दोष रगतको छिट्टा
छट्पटाइरहेको कुनै अभागी जलचर ।
र,
हेर्दाहेर्दै
भर्खर, तिमीले चेप्न भ्यायो आफ्नो तेजधार चुच्चोमा
एउटा निर्दोष माछो !

फ्रीडा काहलोको जुँगा

By : अशरफ फयाद


म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई
र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई ।
म आफ्नो हालको लागि सही राहत खोज्दैछु,
जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु
या म झार्न सकूँ तिम्रो रातो पत्रदलमा जमेको कुइरोको थोपो
या झाँेकको गतिलाई गर्न सकूँ सुस्त जो फैलिन्छ ममाथि
जब यो अनुभव हुन्छ कि
तिमी छैनौं यस घडी मसित
र रहने छैनौं... जब मलाई आफ्नो स्थिति साबित गर्नको लागि
विवश गरिन्छ रातको कातिल मौनताअघि
नाटक गर कि धर्ती मौन छ, जस्तो कि टाढादेखि हेर्छौं हामी यसलाई
र हामीबीच जे भयो त्यो लामो चलेको कुनै भद्दा मजाकभन्दा धेरै केही थिएन !

तिमी के सोच्छौ ती दिनहरूबारे जुन मैले तिमीविना बिताएँ ?
ती शब्दहरूका बारेमा जो मेरो भारी दुखाइबाट यत्ति चाँडै वाष्पित भए ?
ती गाँठबारे जो मेरो छातीमा सुकेको लेउझैं जमेका थिए ?
मैले तिमीलाई भन्न बिर्सें कि मलाई तिम्रो अनुपस्थितिको बानी परिसकेको छ (यान्त्रिकी रूपमा भन्नुपर्दा)
र शुभकामनाहरूले तिम्रो इच्छाहरूको बाटो बिर्सिसके
र मेरो स्मृतिलाई बिर्सिदिएको छ
कि म अझै पनि गरिरहेछु उज्यालोको पिछा, हेर्नको लागि होइन, किनभने अँध्यारो खतरनाक छ, हामीलाई यसको बानी परिहाल्ने पनि !
के मेरो क्षमायाचनाले पुग्छ ?
ती सबको लागि जो घटे त्यस दौरान जब म राम्रो बहाना गर्ने कोसिसमा रहेँ ।

हरेकपटक ईष्र्या उठिरह्यो मेरो छातीमा
हरेकपटक निराशाले मेरो अँध्यारो दिनहरूको एक नयाँ दिन बर्बाद ग¥यो
हरेकपटक मैले भनेँ न्यायलाई हुनेछ महिनावारीको कष्ट र प्रेम आफ्नो ढलिरहेको उमेरमा एक कमजोर दिमागी मान्छे थियो
जो नपुंसकताले ग्रस्त थियो ।

मलाई आफ्नो स्मृतिहरूदेखि जोगिनुछ
र घोषणा गर्नुछ कि म मस्त सुत्छु
मैले ती प्रश्नहरूलाई च्यात्नैपर्नेछ
जो खोज्दै आएका छन् तर्क, सटीक जवाफ पाउनका लागि
ती प्रश्नहरू, थुप्रै निजी कारणहरूले स्वाभाविक विराम खसेपछि आएका हुन् ।

ऐनालाई भन्न देऊ कि तिमी कत्ति सुन्दर छौ
हटाऊ धुलो भरिएको आफ्नो शब्दहरूको थुप्रोलाई ,गहिरो सास लेऊ
याद गर कत्ति माया गर्थें म तिमीलाई,
अनि कसरी सबथोक फेरियो बिजुलीको एक झट्कामा
जो हुनसक्थ्यो भयानक आगोको कारण ...एउटा खाली गोदाममा ।
फ्रीडा काहलो प्रसिद्ध मेक्सिकन पेन्टर हुन्, जसले आफ्नो ‘सेल्फ प्रोट्रेट’मा जुँगा बनाएकी थिइन् ।
अनुवाद ः चन्द्र गुरुङ

म वेश्या

By : नीभा शाह

म वेश्यासंग
त्यत्रो साहस
कहाँ छ र हजूर ?
शहीदको रगत
मदीरा बनाएर
घटघटी पिउने साहस ???

म वेश्यासंग
त्यत्रो साहस
कहाँ छ र हजूर
शहीदको रगत
पिएर फेरी
जिउने साहस ???

म वेश्यासंग
म जस्तै साहस छ हजूर,
गुन्युं खोल्ने साहस
हो, मैले गुन्युं खोलें हजूर !!!
शहीदको रगत चुस्ने
तिम्रा ओठहरुभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुसेका
मेरा ओठहरु,
हो, म वेश्याका ओठहरु !!!

शहीदका छाती गिजोल्ने तिम्रा
रुखा हातहरु भन्दा
पवित्र र चोखा छन्
मेरा छातीहरु
हो, म वेश्याका छातीहरु !!!

शहीदको यौनांग चुठ्ने
तिम्रा यौनांगभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुठेका
मेरा यौनांगहरु,
हो, म वेश्याका यौनांगहरु !!!

अझै गुन्युं खोलूँ हजूर ?
तिम्रा राता साडीले
छोपेर राखेका
तिम्रा राता
मार्क्स र लेनिनभन्दा
पवित्र र चोखा छन्
मेरा नांगा
मार्क्स र लेनिनहरु
हो, म वेश्याका मार्क्स र लेनिनहरु !!!

हो, म र
म जस्तै नांगी, चोखी र पवित्र
नांगीहरुले
च्यात्नु छ,
तिम्रा राता बुर्का भित्रका
छोपिएका, लुकाइएका
कुरूप मार्क्स, लेनिन र माओहरुलाई
र उदांगो पार्नु छ
मेरा चोखा
मार्क्स, लेनिन र माओहरुलाई .......
 

Friday, October 2, 2015

मृत्यूपछिको जीवन

By :
Indra Narthunge

प्रत्येक उभौलीमा...
प्रत्येक छौवामा
सापादु भरीको वासिम
नछुङ्ले फलाक्ने "लेभेनेउ" सँगै
"खाली" को नाममा दायलुङमा खनिन्दा
प्रत्येक किरातीले
आफ्नो सौन्दर्य भेट्ने गर्छ,
तर,
मरेपछि बाँच्न
र, "खाली" भएर दायलुङमा बस्न
त्यति सजिलो छैन किरातीलाई ।

नछुङ्ले कचुर हानेकै भरमा
पोट नपल्टिएर चितै-चीत
वा,
चीत पल्टिएर पोट शून्य हुँदा
"खाली" छुट्टिनु जति सजिलो देखिन्छ
गाह्रो छ, चीत पल्टनु
किनकि, कचुरमा
जीवन र मृत्युको सफेद विम्ब
आउनुपर्छ रिसिया गाउँदा ।
मृत्यु यस्तो स्वभाविक होस्
कि, उमेरले मृत्युलाई
र मृत्युले उमेरलाई
ठानोस् अनिवार्य
मानोस् सर्वस्वीकार्य
न बगेको होस् रगत
न चढेको होस् पानी
न चुहेको होस् पीप
न निलेको होस् कुनै जहर
न लागेको होस् फाँसी
न भएको होस् दुर्घटना
र,
छोडेर जाँदा प्राणले शरीर
न नभेको होस् दायलुङमा आगो
अनि पो पल्टन्छ चीत कचुरको
अनि पो मानिन्छ जीत मृतकको ।
तर,
मृत्यू सफेद हुन
जीवन पनि सफेद हुनुपर्छ
यसैभन्छ मुन्धुमले
-कर्म अनुसारको मृत्यू
-मृत्यु अनुसारको कचुर
र,
कचुर अनुसारको जीवन
-"खाली" कि, "निखाली" ?

छोइडुम

By: केवल बिनावी

फिँजाएर फलेकभरि...
डिका कैंची चक र इन्चिटेप
लिएर एक मुटुरो कपडा
बा घोत्ली रहनुहुन्थ्यो
आकारविहीन आकृतिहरूमा
म सोच्थें
सायद बा इन्जिनियर हुन् ।


ढल्कादै जाँदा बालापन
 म सोध्ने गर्थें
बा
किन छोइडुम खेल्दा
म डुम बनेकै बखत
खित्का छाडी छाडी
हाँस्छन् साथीहरू ?

किन अक्षरहरूको वर्णमालामा
द–वर्णमै दब्ने गर्छन्
अनायासै मेरा स्वरहरू ?

किन मेरै उमेरको काजीको छोरा
तिमी भनेर
बोलाउँछ तपाइँलाई ?

र किन मलाई देखेर
साइत परेको भन्छन्
ऊ माथिल्लो गाउँका बिस्टिनिहरू
म सोध्ने गर्थें बालाई ।

बग्दै जाँदा उमेरको नदी
खुम्चिएपछि
आफ्नै मनको आकाश
मन्साएर देउरालीमा ढुङ्गो
फालेको हुँ आफ्नै बस्तीतिर
र पसेको हुँ यो अन्जान सहर
एक अघोषित अनागरिक ।

तर वर्षौंपश्चात् आज
खुब याद आइरहेछ बाको
र उभिएको छु
त्यही कठघरामा
प्रश्न सोधिरहिछिन्
अबोध छोरी
बाबा
किन सियो खै सियो
कविता पढ्दै गर्दा
पुलुक्क मैतिर हेर्छन् साथीहरू ?

बाबा
किन तुलसीको मठ छेउ खेल्दै गर्दा
बेस्सरी रिसाउँछन्
घरबेटी बा र आमाहरू ?

किन यिनीहरू त त्यस्तो देखिन्नन्
भन्ने गर्छन्
वल्लो पल्लो कोठाका आन्टीहरू ?

बाबा
किन प्राय: मलाई नै भुल्ने गर्छन्
जन्मदिनमा मेरा साथीहरू ?

प्रश्न सोधिरहिछिन् छोरी
म नि:शब्द नियालिरहेछु
निर्दोष मष्तिस्कहरूमा
चल्दै गरेको रक्तपात
र सोचिरहेछु
यी कलिला हातहरूमा
राज्य
कलम थमाउँछ या हतियार ?
(कान्तिपुरको कोशेलीबाट साभार)

Thursday, August 27, 2015

आँपको रुख

By : Rajan Mukarung

दस वर्षअघि
अन्तिम पल्ट ढोगेथेँ यो आँपको रुखलाई


मेरो डाइले भन्नुहुन्थ्यो–
यो उम्रिएकै साल म पनि जन्मेको अरे !


यही आँपको रुखमुनि
म केही क्षण सुस्ताउथेँ
शीतल ताप्थेँ र परपरसम्म हेर्थेँ
यो फराकिलो मैदान
यी खेतका गराहरु
सोच्थेँ– कुनै दिन मेरो पनि हुनेछ यस्तै मैदान र खेतका गराहरु


जोत्न थालेको पचास वर्षपछि
मैले अन्तिम पल्ट हेरेथेँ
मेरै पसिनाले हिलाम्य पारेका गराहरु
रोप्नलाई ठिक्क पारेका लहलहाउँदा बीऊहरु
मन भारी भएथ्यो
तप्पतप्प खसेका थिए आँसु
किनभने– म मुक्त भएको थिएँ त्यस दिन


झुम्कीले यहीँनेर एक मजेत्रो पसिना पुछिथी
गुढ्वाले यहीँनेर जोडजोडले नारा लाएथ्यो
मेरी उसले यहीँनेर उभिएर सोधिथी–
मुक्ति भनेको के हो गुढ्वकबाबा ?


पचास वर्षसम्म
जोतेको खेत
खनेको बाँझो
यसैलाई जीवन ठानेको थिएँ मैले
भनेथेँ– झुम्किकडाइ, आजदेखि यो खेत हामीले कमाउनुपर्दैन रे !
यही होला मुक्ति


मेरी ऊ त्यसबेलै झस्केकी थिई
सोधिथी– अनि कल्ले दिन्छ जोत्ना ?


मलाई सरकारसित विश्वास थियो
उसैले दिन्छ भनेथेँ


पाँच वर्षपहिले
रातो परिचय–पत्रको लागि धर्ना बस्न काठमाण्डू गा’को मेरो गुढ्वा
जन्डिसले थलिएर उतै मर्यो
कम्लरी बस्न उतै ग’की मेरी झुम्की
परार माघीको अघिल्लो रात
‘आउन नपाउने भएँ’ भन्दै फोनमै खूब रोइथी
त्यसै रात उसले आत्महत्या गरिछे
बालुवा बटुल्थी झुम्किकडाइ
तिनाउ–नदीमा बगी पोहोरको बर्खा


दस वर्षपछि
आज २०६७ साल साउन २ गते
सत्तरी वर्ष पुगेको म चुन्नीलाल डगौरा थारु
म मुक्त कमैया
यही आँपको रुखमुनि उभिएको छु
सोचिरहेछु– यही आँपको रुख उम्रिएकै साल म किन जन्मेँ ?

पेटीकोटका झण्डाहरु

By : Anil Shrestha
एउटी बादी आइमाईका पेटीकोटका
टुक्राहरु च्यातिएर
जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ
र सिंहदरबारका पर्खालहरु
पेटीकोटका झण्डाहरु फर्फराउँछन्

जब भर्खरै सङ्गीतबद्ध गरिएका
नयाँ राष्ट्रिय धुनहरु
सिंहदरबारको ग्यालरीभित्र बज्छ
र यो मुलुकका केही उत्साहित सांसदहरु
कुर्सीबाट उठेर
नयाँ धुनलाई सलामी गर्छन्

जब सिंहदरबारको गेटअघि
बाहिर पहरा दिइरहेका सिपाहीका आँखाहरु
पर्खालहरुमाथि झुण्डिरहेका झण्डाहरुलाई हेर्दै
कामुकता प्रदर्शनी गर्छन्
र त्यसका ईजारहरु खुस्किएर
सिंहदरबार स्खलित हुन्छ

जब सर्वोच्च न्यायालयका पर्खालहरु चढेर
संविधानका अराजक धाराहरु
आपसमा मैथुन खेल्छन्
र सिंहदरबारका जगहरुबाट
पेटीकोटका भ्रुणहरु पैदा गर्छन्

जब साँझ परेपछि
निर्मल निवासहरुमा सिंहदरबार फुल्छ
र पारस शाहहरु
लोकतन्त्रको प्रशंसाहरु गाउँछन्

जब अति सम्मानित पोसाकहरुको यौटा कुनाबाट
अँध्यारो विस्तारै खस्छ
र सडकका किनाराहरुमा अँध्यारो झुल्न थाल्छ

जब स्ट्रिटल्याम्पका खम्बाहरुमा ठोक्किएर
बत्तीको उज्यालो मर्छ
र मुलुक पक्षाघातले
संविधानसभा भवनको छेवैमा लड्छ

म भयप्रद भएर
सडकको एक छेउमा उभिएको छु
र त्यो व्यस्त भीडबाट
सघन कक्षको एउटा दुर्गन्धित बेडमा
उपचार गराइरहेको म
मेरो मुलुक हेरिरहेको छु
त्यहीँबाट कहिले म सिंहदरबारका पर्खालहरुमाथि
फर्फराइरहेका झण्डाहरु हेर्छु
कहिले नारायणहिटी हेर्छु
र त्यसको सिरानमा देखिइरहेको घडीसुईहरु हेर्छु

यतिखेर फेरि एक हुल बादी आइमाईका अर्धनग्न स्तनहरु
मेरा आँखाहरु अघि आएर उभिएका छन् र
यो मुलुकका लागि आफूले गर्भाधान गर्न पाउनुपर्ने मागहरु गरिरहेका छन् ।

Wednesday, August 12, 2015

गाउँको पाठशाला

-मीन बहादुर विष्ट

जब म घुम्दै एक दिन गाउँको पाठशाला पुगेँ
त्यहाँ देखें मुस्किलसाथ उभिएका...
केही पर्खालहरु
र पर्खालहरुमा झुन्ड्याइएका
कीराले खाएर धेरै ठाउँ प्वाल परेका
देशका, संसारका र वीरहरुका नक्साहरु ।

जब म घुम्दै एक दिन गाउँको पाठशालामा पुगें
त्यहाँ देखें घामले पोलेर छहारी खोज्दै
पाठशालाभित्र पसेर
मौनवाचन गरिरहेका गाईबाख्रा र गोठालाहरु
र पाठशाला कोठाभित्र बस्न नसकेर
बाहिर रुखको सियाँलमुनि
चर्न लागेका मास्टर र विद्यार्थीहरु ।
जब म घुम्दै एक दिन गाउँको पाठशाला पुगें
त्यहाँ देखें
खुट्टा भाँचिएका कुर्सीमाथि चढेर
निदाइरहेका र निद्रामा बर्बराइरहेका मास्टरहरु
र मास्टरहरुको आदेशबमोजिम
लोरी गाइरहेका
साना, दुब्ला र ख्याउटे विद्यार्थीहरु ।
जब म फर्किरहेको थिएँ
कसैले सोध्यो–
‘कसरी चलिरहेछ गाउँको पाठशाला ?’
मैले भनें–
‘जसरी चलिरहेछ यो देश । ’

धर्म र अफिम

By : Chandra Gurung

सडकैभरि पोखिएका भक्तजन्
जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन...
उफ्रिँदैछन् जोश र आक्रोश
कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे
ओऽऽम माने पेमे ओऽऽम माने पेमे
चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय
मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी
लट्ठिएको छ समय-
गल्ली-गल्ली, चोक-चोक नाराहरू हिँड्दै छन्
धर्मनिरपेक्ष/हिन्दू-राष्ट्र/गाई
यस बखत-
लोलाएको छ सरकारको रतन्धो आँखा
निदाएको छ जनताको दिमाग
पीडामा छ देशको निर्दोष अनुहार ।

अहिले-
दिमागको ग्राफ शून्यमा झरेको छ
सोचको आँखामाथि कालो पट्टी बाँधिदिएका छौँ
समझको आकाशैभरि छाडिदिएका छौँ स्वार्थका किटाणु
यहाँवहाँ उड्दै छ अन्योलको धूलो र धुआँ
मुटुहरू उकुसमुकुस जेल्लिएका छन् विषवृक्षको जराले
भ्वाङ परेको छ चेतनाको आकाशमा
भासिँदै छ विवेकको धरातल
बढेको छ अविश्वास जीवन जीवनमाझ
अपहरित छन् सद्भाव र सहिष्णुता
घिस्रिरहेछ दूषित र दुर्गन्धित समाजको नदी ।
बेहोस पल्टिएको छ परिवेश
आआफ्नो होशलाई
भीरमाथिबाट गोरुको पुच्छरमा बाँधेर घचेटिदिएका छौँ
उडान गुमाएको छ विचारको घाइते पंक्षीले
अर्धचेत मन नाच्दै छौँ आआफ्नै आस्थाको ताल
झुम्दैछौँ आआफ्नै श्रद्धाको संगीत
गाउँदै छौँ आआफ्नै विश्वासको गीत
हामी-
रूढिवादी सुक्खो र साँघुरो कुवामा
टर्र टरररररररर भ्यागुता उफ्रिरहेका छौँ
बुद्रुक्क
बुद्रुक्क ।

गाह्रो त मलाई छ

–कुमार अम्बुज...

सडकतिर, कौसीहरूमा
टिभीमा, रेलगाडीमा, अखबारमा
चारैतिर छन् धर्मको झण्डा
उनीहरूलाई के गाह्रो हुनु, गाह्रो त मलाई छ
म जो रिक्सा चलाउँछु
म जो बिंडी बनाउँछु
म जो उखु उमार्छु
म जो ट्रैफिकमा फस्छु
म जो उधारोमा पर्छु
म जो सहनाई बजाउँछु
म जो भोकले रन्थनिन्छु
उनीहरूलाई के, गाह्रो त मलाई छ
म जो बच्चाहरुको फीस तिर्न सक्तिन
म जो अड्डा-अदालतको चक्कर लगाउँछु
म जो हाट-बजारमा घेरिन्छु
म जो चिसो भुँइमा निँदाउँछु
म जो निर्गुण ब्रह्मको भजन गाउँछु
छिमेकीबाट एक कचौरो चिनी ल्याउँछु
र छरछिमेकको सुखदुखमा सामेल हुँदै
लस्टमा आफू हिन्दू भएको बिर्सिन्छु ।

From : Hindi Poem

पोथी बास्नु हुँदैन


-कुन्ता शर्मा

सधैं सधैं घरका धुरीहरूमा
आँगनहरूमा, बार्दलीहरूमा...
घाँटी तन्काउँदै, सिउर हल्लाउँदै
बस्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो ।

पोथीले मात्र कुर्कुराउनु पर्छ
आक्रोसका घुड्काहरू चुपचाप निल्नु पर्छ
अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ
चल्ला काढ्नु अनि
तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।
तौलीतौली बोल्नु पर्छ
शब्दमा आदरभाव घोल्नु पर्छ
पाउमा निहुरिनु पर्छ
दासताको फूल सिउरिनु पर्छ
लक्ष्मण रेखा नाघ्नु हुँदैन
अधिकार माग्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

आँसु हतियार हो
मुस्कान हतियार हो
स्थिति अनुसार प्रयोग गर्नु पर्छ
परिस्थिति अनुसार उपयोग गर्नु पर्छ
साँचो कुरा बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

टेक गर्नु हुँदैन
थुनछेक गर्नु हुँदैन
मालिक मालिक रट्नु पर्छ
यन्त्र जस्तो भएर खट्नु पर्छ
नयाँ परिवेशमा टेक्नु हुँदैन
नयाँ विचार राख्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

बासेमा के हुन्छ ?
साह्रै अनिष्ट हुन्छ
नीति नियम रुष्ट हुन्छ
ठूलो अवरोध सहनु पर्छ
आँसुको नदीमा बग्नु पर्छ
सपना तुहिन सक्छ
जीवन चुँडिन सक्छ
ओथारोको अण्डा
त्यसै त्यसै कुहिन सक्छ
चल्लाको कलिलो जीवन
नफुल्दै झर्न सक्छ
प्रहार हुन सक्छ
संहार हुन सक्छ
त्यसैले चेतनाको डाक बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

अवरुद्घ चेतना
कहिलेकाँही प्रवाहित हुन खोज्दा
जडताको विरुद्घ
गतिशीलताको पाइला चाल्न खोज्दा
उज्यालोले कुत्कुत्याए पछि
आँटिला मुटुहरूले मुख खोल्दा
साँचो कुरा बोल्दा
आतङ्कित बर्बरताहरू
एकैपल्ट ब्यूँझिएर
जीवनको विरुद्घ
मृत्युघण्ट ठोक्न सक्छन्
एकोहोरो शंख फुक्न सक्छन्
त्यसैले ठूलो आँट नलिइ
दरिलो साथ नलिइ
काँडाघारीमा पस्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

Monday, July 27, 2015

धर्मको नाममा

By : Indra Narthunge

छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर
घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा
जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर...
एउटा ढुङ्गालाई थपना राख्छ मान्छे
र,
सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै
धर्म गरें भनी मख्ख पर्छ ।

आफू झैं मृत्यु पर्खिरहेको
कुनै अरिमठ्ठे बोकासँग सिङ्मा सिङ जुधाउँदै
बल दँजाई रहेको कालो बोकालाई तानेर
अचानोको सामु पुर्याउँछ मान्छे
र,
लामो कट्टीले एकै चोटमा छिनाई
रगतको सिर्का हानिरहेको गर्धन मुखमा लाएर
धर्म गरेको नाममा हेर...हेर...चिच्याई रहन्छ ।
कयौं माईल हिंडेर नाङ्गो खुट्टाले
फतक्कै जवानी गलेको बेला
थुचुक्क बसेर जमिनमा
समय उघ्राई रहेको रांगालाई
तान्दै मूर्तिछेउ पुर्याउँछ मान्छे
र,
लामो खुँडा निकालेर गर्धनमा छप्काउँदै
धर्मको नाममा स्याब्बास् कराउँछ ।
कतै धर्मकै निम्ति,
उज्यालोको पखेटा नखस्दै धरामा
स्निग्ध हिमाललाई कालो बादल ओढाइन्छ
र,
साना दुई आँखे प्वालबाट चिहाउन
बाध्य पारिन्छ खुल्ला संसार ।

कतै, चढेर पनि सँगै यौवनको डुङ्गा
किनारामा उत्रिएपछि
धोयर सहयात्रीको पाईताला पानीले
त्यही पानीलाई अमृत जल मानेर
श्रद्धा प्यूनु पर्ने बिवसता छ धर्मको नाममा ।
यहाँ,
मन्दिर बनाईन्छ
मस्जिद सजाईन्छ
चर्च उभ्याईन्छ
गुम्बा दँजाईन्छ
र,
आपसमा निषेध हुर्काईन्छ धर्मको नाममा ।

यहाँ,
बन्दुक उठाईन्छ
मान्छे मारिन्छ
मान्छे रेटिन्छ
मान्छे काटिन्छ
र,
मान्छे आफै पड्किन्छ धर्मको नाममा ।

र, म
धर्मको बिरुद्धमा
धर्मको बिपक्षमा
मूर्दाबादको नारा लगाईरहेछु
केवल धर्मको नाममा ।

इन्द्रेणी गीत

By : Indra Narthunge

घाम र पानी
चढेर बायूपंखी घोडा समयको
जब सँगै झर्छन् धर्तिमा...
तब,
आकाशले इन्द्रेणी माला लाउँछ ।

सुख र दु:ख
बनेर रथका दुई पाङ्ग्रा
जब गुडाउन थाल्छ जिन्दगी
तब,
समयले इन्द्रेणी गीत गाउँछ ।

फाइनल म्याच

- आहुति
११ श्रावण, २०७२- विभेद विरुद्ध अभियान ।

हातमा ज्यावल या कहिले हतियार
सम्झेर सुरक्षित
निर्भय
मस्त निदाएँ युगौंयुग
तड्पेर ब्युझँदा
ममाथि शोषण गरिरहेका थिए
हातमा किताव बोकेका मानिसहरू !
हतार हतार
मैले पनि उठाएँ कलम
लेख्न थालें
बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !
हातमा कलम या कहिले किताव
ठानेर सुरछित
निस्चिन्त
फेरि निदाएँ वर्षौंवर्ष
झस्केर उठ्दा
ममाथि शासन गरिरहेका थिए
हातमा हतियार बोकेका मानिसहरू !
कहिले हुन्छ मेरो मुक्ति
कहिले हुन्छु म स्वतन्त्र
ज्यावल र हतियार बोक्छु
म शोषित नै भैरहेको हुन्छु
फेरि कलम र किताव बोक्छु
म शासित नै भैरहेको हुन्छु !!
अबदेखि
स्वास अक्षरहरूको लिन्छु
प्रस्वासमा फाल्न सिक्नेछु बारूद
कलमले संवाद गर्छु
प्रतिवादमा तयार राख्नेछु हतियार
  किताव र हतियार बोकेर एकसाथ
म कहिले निस्चिन्त रहने छैन
मस्त निदाउने छैन एकपल
कलम भिर्दा भुल्ने छैन हतियार
हतियार बोक्दा बिर्सने छैन कलम !
संभवत
अब भने रोचक हुनेछ
यो ऐतिहासिक महासंग्रामको
फाइनल म्याच !
- साभार- रेकर्ड नेपाल

* अजम्बरी गीत *

By : Sanjiv Rai

कविताको आकाशबाट
भुर्र उडेर आयो एउटा जुरेली
र गाउन थाल्यो जिन्दगीको हाँगामा बसेर...
मान्छेलाई मन पर्ने गीतहरू

पहिलो अन्तराको पहिलो पङतिबाट
उपमा टिप्यो सौन्दर्यले
अन्तरालमा क़मशः
उमङगको पाइला टेक्दै शिखर चढिरह्यो प्रेम र शान्तिसँगसँगै
गीतकै उज्यालो पाएर अनि
चहकियो एकाएक
पीडाको बादलमा छोपिएको अनुहारको उदास जून पनि
गुन्गुनाउदै
मान्छेलाई मनपर्ने उहि गीत
यतिखेर भने
त्यो विद्रोही गाय्
अध्याँरोमा रमाउने शासकको
अराजक उपत्यकाबाट आतङक मच्याउदै बहनि
हावाको कठालो समातेर
दौडाउदै आइरहेछ परिवर्तनको घोडा
ऑधीको वेगमा
गुञ्जायमान छ मुक्ति र उन्मुक्तिका रीचाहरू#
कविताको आकाशैभरी
यस बेला हेर्न लायकको छ
अनुहार, भयाक्रान्त मृत्यूको ।