Saturday, December 19, 2015

देश

By : Chandra Gurung
 
आकाशको कौसीबाट
तुर्लुङ्ङ झुन्डिएको जूनको त्यो फुर्को
तिम्रो जीवनको अँध्यारो बाटोमा उज्यालो हिँड्छ
मेरा उराठ पलहरूमा खुशी मुस्कुराउँछ
त्यो तिम्रो पनि हो
त्यो मेरो पनि हो
सुन्दर जून जस्तै हो देश ।


घाम उकालो उक्लन्छ
घाम ओरालो ओर्लन्छ
तिमी आफ्नो मुटुमा घामको न्यानो भर्छौ
म एक किरण रोशनीले यी आँखा रङ्ग्याउँछु
उज्यालो र सुखद
सुनौलो घाम जस्तै हो देश ।

क्षितिजका टिलपिल ताराहरू
तिमी ती तारालाई मनमा आशा मानेर सजाउँछौ
म टीका बनाएर निधारमा राख्छु
आत्मीय र मायालु
चम्किलो तारा जस्तै हो देश ।

यी सेता हिमाल
तिमी आत्मविश्वासको प्रतीक मानेर ढोग्छौ
म साथको साथी मानेर पुज्छु
शान्त र गम्भिर
पवित्र हिमाल जस्तै हो देश ।

यो बतास
तिम्रो मनको डाँडाकाँडा खुशी बोक्दै आउँछ
मेरो जीवनको फाँटभरि सद्भावको कोशेली लिएर डुल्छ
सबको मन हर्ने
निश्छल बतास जस्तै हो देश ।

त्यो अँगालोमा
तिम्रो दुःखव्यथाको सारा संसार सजिलै अटाउँछ
मेरो जीवनभरिको थकान सिनित्त मेटिन्छ
सहृदयी मायाले बेर्ने
विशाल समुद्र जस्तै हो देश ।

यी फूलहरूमा
तिमी आफ्नो रगतको रंगले जीवन भर्छौ
म मेरो पसिनाले सौन्दर्य थप्छु
साझा फूलबारी, र
सुगन्धित फूल जस्तै हो देश ।

साथी,
तिम्रो आँसुमा रसाउने त्यो एकजोर बूढौली आँखा
मेरो खुशीमा फुल्ने त्यो चोखो अनुहार
मनको भित्तामा फ्रेमबद्ध
ममतामयी आमा जस्तै हो देश ।

Monday, November 30, 2015

मलाला युसुफजाइलाई अनुरोध

By:मनु लोहोरुङ्

ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,


ओ मलाला !
तिमीलाई थाहा छैन होला
तिम्रो बुर्का भन्दा केही फरक छैन
मेरो गाउँको संकीर्ण विचार
मेरो शहरको हिंस्रक कार्य,
मेरो समाजको अचेतना
तिम्रो बुर्काले त केवल
तिम्रो मुहारको सुन्दरता मात्रै छोपियो
तर संकीर्ण विचारले त
खोसिन्छन्,यहाँ इमान्दारका अवसरहरू
लुटिन्छन्, यहाँ गाउँमा गरिबीको पसिना
छोपिन्छन् यहाँ शहरमा ज्यादतीहरू


थाहा छ ? तिमीलाई कन्चटमा ताकेर
मार्न खोज्ने तालेवानी बिद्रोही भन्दा
कम खतरनाक छैन
मेरो अर्ध-चेत संस्कार
किन कि तिमी जस्तै
थुप्रै नारीहरूमाथि घरेलु हिंसा खनिन्छ
र यहाँ समाज निदाउछ
मेरो कानून बिक्छ = पैसामा
मेरो प्रसाशन बाँच्छ = गुण्डामा
मेरो न्याय लहसिन्छ = नेतामा
र सत्य साटिन्छ = नातामा

ओ मलाला !
तिम्रो आवाजहरू उज्याउन
मेरो रस्ती वस्तीमा पनि एक पटक जन्मिऊ न !
मेरो गाउँ ब्युँझियोस्
मेरो शहर झस्कियोस्
कि म चाहन्छु,
- प्रत्येक अँध्यारा गल्लीहरूमा
- शहरका चौक-डबलीहरूमा
- प्रत्येक अन्धो दिमागहरूमा
नारीको अस्मितामाथि
न्यायको हुंकार बोलियोस्,
बोलियोस्, परआत्मामाथि गरिने
कुठाराघातहरूमाथि निसाफ
अधिकार शक्तिमा बदलियोस्
न्यायको आभास बदलियोस

आडम्बरका महलहरूभित्र
उठाईका अधिनायक दिवारहरूबाट
निस्किउन् मानवीय चेतका गुञ्जनहरू

ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,
मेरो देशलाई................!

एउटा धूर्त बकुल्लो

By :चन्द्र गुरुङ

आँखाहरू बन्द छन्
अनुहारभरि फैलिएको छ मौनता ...
एक खुट्टामा उभिएर
ध्यानमग्न छ बकुल्लो ।


कति शान्त
कति सौम्य
कति शालीन
र, भद्र अनुहार ।

कुनै
तपस्यालीन साधु जस्तै
भजनको संगीतमा डुबेको भक्त जस्तै
मस्त आत्मा जस्तै ।

अभ्यस्त छौ
साथको अभिनय गर्न
गहिरो मित्रताको नाटक खेल्न
सद्भावको ढोँग रच्न ।

तर,
धेरै पटक देखेको छु
तिमीले ओठमा बोक्रे मुस्कान उमारेको
झारेको गोहीको आँसु
चुपचाप उभिन्छौ
मनमा कपटपूर्ण जाल बुन्छौ
पर्खी बस्छौ मायाप्रेमको आकाश फिँजाई
आफ्नो आहारा छोप्न ।

जहिले देख्छु
तिम्रो मुखमा कुनै निर्दोष रगतको छिट्टा
छट्पटाइरहेको कुनै अभागी जलचर ।
र,
हेर्दाहेर्दै
भर्खर, तिमीले चेप्न भ्यायो आफ्नो तेजधार चुच्चोमा
एउटा निर्दोष माछो !

फ्रीडा काहलोको जुँगा

By : अशरफ फयाद


म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई
र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई ।
म आफ्नो हालको लागि सही राहत खोज्दैछु,
जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु
या म झार्न सकूँ तिम्रो रातो पत्रदलमा जमेको कुइरोको थोपो
या झाँेकको गतिलाई गर्न सकूँ सुस्त जो फैलिन्छ ममाथि
जब यो अनुभव हुन्छ कि
तिमी छैनौं यस घडी मसित
र रहने छैनौं... जब मलाई आफ्नो स्थिति साबित गर्नको लागि
विवश गरिन्छ रातको कातिल मौनताअघि
नाटक गर कि धर्ती मौन छ, जस्तो कि टाढादेखि हेर्छौं हामी यसलाई
र हामीबीच जे भयो त्यो लामो चलेको कुनै भद्दा मजाकभन्दा धेरै केही थिएन !

तिमी के सोच्छौ ती दिनहरूबारे जुन मैले तिमीविना बिताएँ ?
ती शब्दहरूका बारेमा जो मेरो भारी दुखाइबाट यत्ति चाँडै वाष्पित भए ?
ती गाँठबारे जो मेरो छातीमा सुकेको लेउझैं जमेका थिए ?
मैले तिमीलाई भन्न बिर्सें कि मलाई तिम्रो अनुपस्थितिको बानी परिसकेको छ (यान्त्रिकी रूपमा भन्नुपर्दा)
र शुभकामनाहरूले तिम्रो इच्छाहरूको बाटो बिर्सिसके
र मेरो स्मृतिलाई बिर्सिदिएको छ
कि म अझै पनि गरिरहेछु उज्यालोको पिछा, हेर्नको लागि होइन, किनभने अँध्यारो खतरनाक छ, हामीलाई यसको बानी परिहाल्ने पनि !
के मेरो क्षमायाचनाले पुग्छ ?
ती सबको लागि जो घटे त्यस दौरान जब म राम्रो बहाना गर्ने कोसिसमा रहेँ ।

हरेकपटक ईष्र्या उठिरह्यो मेरो छातीमा
हरेकपटक निराशाले मेरो अँध्यारो दिनहरूको एक नयाँ दिन बर्बाद ग¥यो
हरेकपटक मैले भनेँ न्यायलाई हुनेछ महिनावारीको कष्ट र प्रेम आफ्नो ढलिरहेको उमेरमा एक कमजोर दिमागी मान्छे थियो
जो नपुंसकताले ग्रस्त थियो ।

मलाई आफ्नो स्मृतिहरूदेखि जोगिनुछ
र घोषणा गर्नुछ कि म मस्त सुत्छु
मैले ती प्रश्नहरूलाई च्यात्नैपर्नेछ
जो खोज्दै आएका छन् तर्क, सटीक जवाफ पाउनका लागि
ती प्रश्नहरू, थुप्रै निजी कारणहरूले स्वाभाविक विराम खसेपछि आएका हुन् ।

ऐनालाई भन्न देऊ कि तिमी कत्ति सुन्दर छौ
हटाऊ धुलो भरिएको आफ्नो शब्दहरूको थुप्रोलाई ,गहिरो सास लेऊ
याद गर कत्ति माया गर्थें म तिमीलाई,
अनि कसरी सबथोक फेरियो बिजुलीको एक झट्कामा
जो हुनसक्थ्यो भयानक आगोको कारण ...एउटा खाली गोदाममा ।
फ्रीडा काहलो प्रसिद्ध मेक्सिकन पेन्टर हुन्, जसले आफ्नो ‘सेल्फ प्रोट्रेट’मा जुँगा बनाएकी थिइन् ।
अनुवाद ः चन्द्र गुरुङ

म वेश्या

By : नीभा शाह

म वेश्यासंग
त्यत्रो साहस
कहाँ छ र हजूर ?
शहीदको रगत
मदीरा बनाएर
घटघटी पिउने साहस ???

म वेश्यासंग
त्यत्रो साहस
कहाँ छ र हजूर
शहीदको रगत
पिएर फेरी
जिउने साहस ???

म वेश्यासंग
म जस्तै साहस छ हजूर,
गुन्युं खोल्ने साहस
हो, मैले गुन्युं खोलें हजूर !!!
शहीदको रगत चुस्ने
तिम्रा ओठहरुभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुसेका
मेरा ओठहरु,
हो, म वेश्याका ओठहरु !!!

शहीदका छाती गिजोल्ने तिम्रा
रुखा हातहरु भन्दा
पवित्र र चोखा छन्
मेरा छातीहरु
हो, म वेश्याका छातीहरु !!!

शहीदको यौनांग चुठ्ने
तिम्रा यौनांगभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुठेका
मेरा यौनांगहरु,
हो, म वेश्याका यौनांगहरु !!!

अझै गुन्युं खोलूँ हजूर ?
तिम्रा राता साडीले
छोपेर राखेका
तिम्रा राता
मार्क्स र लेनिनभन्दा
पवित्र र चोखा छन्
मेरा नांगा
मार्क्स र लेनिनहरु
हो, म वेश्याका मार्क्स र लेनिनहरु !!!

हो, म र
म जस्तै नांगी, चोखी र पवित्र
नांगीहरुले
च्यात्नु छ,
तिम्रा राता बुर्का भित्रका
छोपिएका, लुकाइएका
कुरूप मार्क्स, लेनिन र माओहरुलाई
र उदांगो पार्नु छ
मेरा चोखा
मार्क्स, लेनिन र माओहरुलाई .......
 

Friday, October 2, 2015

मृत्यूपछिको जीवन

By :
Indra Narthunge

प्रत्येक उभौलीमा...
प्रत्येक छौवामा
सापादु भरीको वासिम
नछुङ्ले फलाक्ने "लेभेनेउ" सँगै
"खाली" को नाममा दायलुङमा खनिन्दा
प्रत्येक किरातीले
आफ्नो सौन्दर्य भेट्ने गर्छ,
तर,
मरेपछि बाँच्न
र, "खाली" भएर दायलुङमा बस्न
त्यति सजिलो छैन किरातीलाई ।

नछुङ्ले कचुर हानेकै भरमा
पोट नपल्टिएर चितै-चीत
वा,
चीत पल्टिएर पोट शून्य हुँदा
"खाली" छुट्टिनु जति सजिलो देखिन्छ
गाह्रो छ, चीत पल्टनु
किनकि, कचुरमा
जीवन र मृत्युको सफेद विम्ब
आउनुपर्छ रिसिया गाउँदा ।
मृत्यु यस्तो स्वभाविक होस्
कि, उमेरले मृत्युलाई
र मृत्युले उमेरलाई
ठानोस् अनिवार्य
मानोस् सर्वस्वीकार्य
न बगेको होस् रगत
न चढेको होस् पानी
न चुहेको होस् पीप
न निलेको होस् कुनै जहर
न लागेको होस् फाँसी
न भएको होस् दुर्घटना
र,
छोडेर जाँदा प्राणले शरीर
न नभेको होस् दायलुङमा आगो
अनि पो पल्टन्छ चीत कचुरको
अनि पो मानिन्छ जीत मृतकको ।
तर,
मृत्यू सफेद हुन
जीवन पनि सफेद हुनुपर्छ
यसैभन्छ मुन्धुमले
-कर्म अनुसारको मृत्यू
-मृत्यु अनुसारको कचुर
र,
कचुर अनुसारको जीवन
-"खाली" कि, "निखाली" ?

छोइडुम

By: केवल बिनावी

फिँजाएर फलेकभरि...
डिका कैंची चक र इन्चिटेप
लिएर एक मुटुरो कपडा
बा घोत्ली रहनुहुन्थ्यो
आकारविहीन आकृतिहरूमा
म सोच्थें
सायद बा इन्जिनियर हुन् ।


ढल्कादै जाँदा बालापन
 म सोध्ने गर्थें
बा
किन छोइडुम खेल्दा
म डुम बनेकै बखत
खित्का छाडी छाडी
हाँस्छन् साथीहरू ?

किन अक्षरहरूको वर्णमालामा
द–वर्णमै दब्ने गर्छन्
अनायासै मेरा स्वरहरू ?

किन मेरै उमेरको काजीको छोरा
तिमी भनेर
बोलाउँछ तपाइँलाई ?

र किन मलाई देखेर
साइत परेको भन्छन्
ऊ माथिल्लो गाउँका बिस्टिनिहरू
म सोध्ने गर्थें बालाई ।

बग्दै जाँदा उमेरको नदी
खुम्चिएपछि
आफ्नै मनको आकाश
मन्साएर देउरालीमा ढुङ्गो
फालेको हुँ आफ्नै बस्तीतिर
र पसेको हुँ यो अन्जान सहर
एक अघोषित अनागरिक ।

तर वर्षौंपश्चात् आज
खुब याद आइरहेछ बाको
र उभिएको छु
त्यही कठघरामा
प्रश्न सोधिरहिछिन्
अबोध छोरी
बाबा
किन सियो खै सियो
कविता पढ्दै गर्दा
पुलुक्क मैतिर हेर्छन् साथीहरू ?

बाबा
किन तुलसीको मठ छेउ खेल्दै गर्दा
बेस्सरी रिसाउँछन्
घरबेटी बा र आमाहरू ?

किन यिनीहरू त त्यस्तो देखिन्नन्
भन्ने गर्छन्
वल्लो पल्लो कोठाका आन्टीहरू ?

बाबा
किन प्राय: मलाई नै भुल्ने गर्छन्
जन्मदिनमा मेरा साथीहरू ?

प्रश्न सोधिरहिछिन् छोरी
म नि:शब्द नियालिरहेछु
निर्दोष मष्तिस्कहरूमा
चल्दै गरेको रक्तपात
र सोचिरहेछु
यी कलिला हातहरूमा
राज्य
कलम थमाउँछ या हतियार ?
(कान्तिपुरको कोशेलीबाट साभार)