Monday, June 22, 2015

ए पाक्मा ( कविता)


By : आश्रय रवि

ए पाक्मा
कति घुर्क्याउँछौ
कति रिसाउँछौ...
यो ताङ्साङसँग
सबै छुट छ तिमीलाई
पोखिन्छु झरी बनेर
अनि भिजाउँछु तिमीलाई।

तिम्रै लागि भनी
जून तारा
हाम्रै लागि भनी
सपना
हजारौं बोकेर
हिडिरहे उकाली ओराली
चढिरहे जीवनका खुट्किलाहरु
सपनाको आधार शिविरमा
पुगौँला भनेर।।।
अचानक देउरालीमा
तिमीलाई भेटे
बादलले ढाकेको मनपनि
जब घमाईलो भयो
परिचय भयो
विस्तारै प्रेमको वृक्ष झाङ्गियो
अनि सुरुवात भो
जीवनको दोस्रो अध्याय।।।
चल्दै गयो जिन्दगी
समयको कम्पासमा
तौलिदै ल्यायो समयले
जिन्दगीको तराजुमा
कहिले तल कहिले माथी
बोकेकै थिए कर्तव्य
थामेकै थिए पुर्खाको विरासत
तर,
कसरी?
ए पाक्मा
अचानक तिमीले नै
दु:खै-दु:खले
कुचिएको निधारमा
युप्पालुङले हानेर जाँदा
अलिकति दबिएछ
विभेदले थिचिएको नाक।
शब्दको अर्थ लिम्बू भाषामा
पाक्मा:-कान्छी
ताङ्साङ:-आकाश
युप्पालुङ:- विवाह लगनमा फेदाङबाले(लिम्बू पुरोहित)
तुम्याङहरूको(भलाद्मी ) रोहबरमा बेहुलाले
बेहुलीको मजेत्रोमा सत्यवाचा गराएर
ढुङ्गा (लुङयाङ) बाँधिदिन्थे।
ढुङ्गाको सट्टा चाँदीको सिक्का बाँध्न
थालेपछि युप्पालुङ भनिन थालियो।
बाँधिएको उक्त ढुङ्गासँग फेदाङबाले यस्तो सत्य
वाचा बाँधिदिन्थे–
‘यदि श्रीमतीले
लोग्नेसँग घरजम गरिखान
नसकेमा श्रीमतीले
लोग्नेलाई उक्त युप्पालुङले
लोग्नेको निधारमा हानेर
गएमा श्रीमतीले लोग्ने
छाडेर गएको ठहरिनेछ।'
 

हो-चि-मिन्हलाई चिठी


By : भूपि शेरचन 
आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रे हिमालको छायामा उभिएर
तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा हिमाल मानेर
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धुवाँझैं
बिस्तरी-बिस्तरी उठेर
मेरो अगाडी उभिरहेछ
तिम्रो बुढो पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर
मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला - 'लेते खोला'
तिमी जस्तै शान्त दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठुल्ठुला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
बाढी थामिएपछी
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले
आफुलाई भत्केको, भास्सिएको चोइटिएको पाउंछन्
मेरो 'लेते खोला' !
ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरुको बिचमा सिमरेखाहरुले
मलाई तिमीसंग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना
यो सबभन्दा माथि सच्चा जहाँ मुटुको ढुकढुकी
त्यहाँ मा तिमीसंग छु
युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काईमा बेघर भएको छु
तिम्रो प्रत्येक पूलको टुटाईमा टुटेको छु
तिम्रो प्रत्येक गोल-गोल मंगोल अनुहार भएकी
आइमाइको बेईज्जतीमा
मैले आफ्नी पत्नी दिदि-बहिनीहरुलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध-बिहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भुको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमवर्षाको छिर्का
मैले आफ्नो धरहरामाथी परेको अनुभव गरेको छु
बमवर्षाका रातहरु
मैले पनि जागरणका ट्रेन्चहरुमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरी मुढाहरु दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
तिम्रो सानो देशको ठुलो आत्माबाट
मैले आफ्नो सानो सानो आत्माभित्र
एउटा ठुलो ज्योति सल्केको पाएको छु
हनोइमाथी होइन, मान्छेमाथि बम हो,
मैले तथा मजस्तै
सारा मानिसहरुले ती बमहरुलाई
आफूमाथि पड्केको भन्ठानेका छौं
मेरो कमरेड !
मेरो हिमाल !
मेरो 'लेते खोला'
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन
जसरी डढेलोमा रुखहरु डढ्छन
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरी पलाउँछ
डढेलो पछी उम्रिने असंख्य च्याउहरुजस्तै
आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रेको छायामा उभिएर
प्रतिज्ञाजस्तो वारिपी दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
किरिया हाल्ने सामर्थ्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा

आत्महत्या गर्न बाध्य हुनेछ

Saturday, June 20, 2015

के म चुप बस्न सकूँला ?

By : Indra narthunge

म जन्मिएको साल
पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम
सरकारको बहिखातामा
र,
तीन बर्षसम्म
बेखबर हुर्किरहें ।

चार बर्षको उमेरमा
पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि
कलिलो पाखुरामा गाडेर तिखो सूई
दादुराको दर्द मिश्रित खोप
चुपचाप सहें ।

पाँचबर्ष टेकेपछि
बिद्यालयको हाजिर खातामा चढ्यो नाम
र, भाग पाएँ
लामो फल्याकको एक फिट बर्गाकार क्षेत्र
जहाँ फिँजाएर धुलोमाटो
बाँसको सिन्काले लेख्दै–मेट्दै गरिरहें
खल्र्याङखुट्टी अक्षरहरु ।

छैटौं बर्ष लाग्नै आँट्दा
साँवा अक्षरमा थपेर
बाह्रखरीको चर्को ब्याज
हेडमास्टरलाई बुझाएपछि
झुत्रो किताब थमाईयो हातमा
र, त्यसपछि
घोकिरहें सुखद भविश्यका
धुर्मैलो अभिप्साहरु ।

हरेक महिना तिरियो फी
हरेक बर्ष किनियो नयाँ किताब
कक्षा चढ्दै गएपछि
गिदी भर्दै गएपछि
फेरियो पाठसाला
फेरिए पाठ्यक्रमहरु
र,
चर्कोचर्को स्वरमा गाईयो
महाराजाहरुको आत्मश्लाघा ।

हरेक दशकमा
टिपाएँ गणकलाई नाम र थर
नसोधी लेखिदियो भाषा र धर्म
नापी आयो र नाप्यो आवादी
छुट्यो संधैलाई खर्क र पर्ती
घुर्यानैमा गाडियो पानीको पायप
धुरी सामुन्ने टाँगियो बिजुकीको तार
रेम्मातुङ मेटियो र बन्यो सामुदायिक बन
वालाखा पुरियो र ठडियो हिटी धारा ।

फेरिए सरकारहरु
फेरियो राज्य व्यवस्था
रेडियो नेपालले फुकेको समाचारमा
जनताको जीत भयो भन्ने सुनेपछि
उफ्रिएँ आँगनमा एकोहोरो
जिन्दाबादको नारा लगाउँदै ।

उमेर पुगेपछि,
रहरले पालेको जुल्फीलाई
ढाकाटोपीले घ्वाम्लाङ्ग छोपेर
दुवैकान सर्लक्क देखिएको
स्यामश्वेत तस्बिर खिचीवरी
नागरिकताको लागि दिएँ निवेदन रितपूर्वक
र,
धनीपूर्जामा उत्रिएपछि नाम
हरेक आर्थिक बर्षमा
बुझाई रहें तिरो राज्यलाई ।

हरेक चुनाबमा,
घरको भित्तोभरि टाँसियो रङ्गीबिरङ्गी पोष्टरहरु
थामाईए हातमा अपिल र घोषणापत्र
उनीहरुले भनेकै कुरा पत्याएँ
उनीहरुले चिनाएकै चिन्ह रोजें
र,
एकभारी सपनाहरु पोको पारेर
बाकसको सानो प्वालबाट खसाली दिएँ ।

बिहे गरेपछि,
लजाई लजाई छिरियो स्वास्थ्य चौकी
ओसारियो अस्थायी साधनको प्याकेट
जँचाईयो श्रीमतिको गर्भ
लगाईयो पूर्ण खोप
र,
जन्मिएपछि छोरी सिम्मा
खुवाईयो पोलियो, भिटामिन र जुकाको दबाई
अनि छोरा म्हैपाको आगमनसँगै
छिनाईयो एउटा नशा
जहाँबाट बग्ने छैन कहिल्यै
पुरुष हुनुको घमण्ड अब ।

चर्पी खनियो
चुला फेरियो
मार्सी धान फल्ने खेतमा
स्क्याभेटरलाई दाह्रा–नङ्ग्रा गाड्न दिईयो
थरिथरीका संस्था आए
समुहमा बसियो
बचत गरियो
बिऊ दिए–रोपियो
गोबरमललाई छोप भन्यो–छोपियो
जे जे उर्दी जारी भो
जम्मै मानियो
जम्मै गरियो ।

पासपोर्ट बनाईयो
भिषा लाग्यो
बन्धकी राखेर साहु कहाँ–
बाबुआमाको दुःख
श्रीमतिको हाँसो
र ,
छोराछोरीको आँशु
लागियो पर......देश
बोकेर अनन्त जिजीबिषाहरु ।

र आज,
सुरक्षा पोष्टको साँघुरो कुनामा कोच्चिएर
निकाल्दैछु जिन्दगीको हिसाब किताब
कि राज्यले ममाथि गरेको सबै प्रयोग
म माथि थोपरेको सबै बाध्यता
शासित हुनुको नाताले चुपचाप माने
परन्तु,
मेटेर बिभेदका रेखाहरु
पहिचानको क्यानभाष भित्र
नयाँ नेपालको तस्बिर कोर्ने बेला
अनाम मण्डलहरुको मण्डलीमा
धतुरो उमार्ने प्रयत्न हुँदैछ भने
के म फेरि चुप बस्न सकूँला र ?

किरात चाम्लिङ राई शब्दको शब्दार्थः
रेम्मातुङ : चिहानघारी
वालाखा : पानीपँधेरो
सिम्मा : ठूली छोरी
म्हैपा : ठूलो

Thursday, June 18, 2015

"भुकम्पलाइ प्रश्न "

By : Kaappabo Chum

खप्परको बनोट मिलेन ,
जीवन चलाउन
गिदिको धरौटी राख्न खोज्दा ...
र हापिदिए आशा ।

ए , जिन्दगी ...!
तिमी ठिक त छौ नि है ?
पत्थर नि पग्लियो
तिम्रो झट्काले ,
मुटुमा पर्‍यो
तिम्रो पराकम्पन ।
प्रीय भुकम्प ..!
तिमिलाइ कस्तो छ ?
भुकम्प -
तिमी अल्झियौ कि
म अल्झिए .. ?
तर ,
हामी अल्झ्यौ
साच्चै हामी अल्झ्यौ ।
प्रीय भुकम्प ,
के हाम्रो यात्रासँगै हो ?
भुकम्प -
मिल्दैन भन्थ्यौ गन्तव्य
तोड्दिन भन्थ्यौ समाज
तर ,म
मोडाउन खोज्दै छु
तिम्रो गन्तव्य ,
तोडाउन खोज्दैछु
तिम्रो समाजको आस्था
के तिमी राजी छौ ..?

ब्रम्हप्रसाद, म र देश

By : Indra Narthunge

पसेर 'नो हलाल' लेखिएको दोकानमा
ङिच्च हिमाल हाँसिरहेको
पौराणिक डोजरको एक किलो ज्यान
चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर
युद्ध जितेको सिपाहीको रवाफमा
ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन्
र,
देशले दलित मानेको
परदेशको सदाबहार भान्से, दमाई कान्छोलाई
अह्राउँछन् फ्राइपिनमा जात भुट्न ।
यता म,
"हलाल" लेखिएको होटलमा
प्रत्येक साँझ छिर्छु
र,
काउण्टरमा अर्डर गर्छु
देशले खान प्रतिबन्धित गरेको "लम्बुकरी"
जोसँग मेरो संस्कृती जोडिएको छ ।
तर देश,
चिल्साले खाइसकेको मुलुकी ऐन पल्टाएर
अन्तर्राष्ट्रिय कानुनसँग बाझिएको महल ब्यूँताउँदै
म गोरु खाने किरातीहरुलाई जेल हाली
मेरै खोरको पुँडी सुङ्गुर ढालेर
बिजयोत्सव उत्सब मनाई रहेछ
तिनै ब्रम्हप्रसादहरुसँग ।
शब्दार्थ :
हलाल : मुस्लिमहरुले खान वा प्रयोग गर्न मिल्ने भनी दिएको मान्यताप्राप्त चिन्ह ।
लम्बुकरी : गाई-गोरुको मासुको तरकारी

आग्रह

आश्रय रवि

 काडाँघारीको
जंगली मान्छेलाई
फूल नपठाईदिनु
महोदय
जब कि मलाई
फूलभन्दा काडाँनै
प्रिय लाग्छ
म चाहन्छु फूलको
अपमान नहोस्
अध्यारै-अध्यारो
आदिम वस्तीमा
जून तारा नपठाईदिनु
महोदय
अन्धकार नै प्रिय छ
युगौ-युगदेखि
वर्तमानसम्म
फेरि जाग्न सक्छ
उज्यालोको चेतनाहरु
म चाहन्छु हजुरको
नटुक्रियोस् गिदी
नगुमोस् ज्योति
विकृतिले बाँझो भएको
दुषित माटोमा छर्नलाई
संस्कृतिको बिउ नपठाईदिनु
महोदय
दुषित माटोको
विकृत संस्कृती नै
किन किन प्रिय लाग्छ
रगत र पसिना लत्पतिएका
खोरिया जंगलमा
अपमानित सभ्यताको
जग हाल्न नखोज्नु
महोदय
अझै जिउँदै छन
खाम्जिरी खाम्बोङ्बा