Wednesday, June 24, 2015

कायर भूकम्प

By– पञ्च विस्मृत

फूटपाथहरुमा
हजारौँ मान्छेको दु:ख्ख टाल्ने सडक धाँज फाट्छ ...
गन्तव्यतर्फ अघि बढेका कदमहरु लरखराउछन्
मनमा अँध्यारो छाएको बेला
शहर ओझ्याउने
ल्याम्पोष्टहरु समेत ढल्छन्, भूकम्पमा

जिन्दगीको हिस्सा बेचेर किनेको एउटा इँट
आफ्नै घरको पर्खालबाट झर्छ र काल बन्छ
जन्मेदेखि आश्रय दिइरहेको आफ्नै घरले
सिङ्गो परिवार निलिदिन्छ
भूकम्पमा मन्दिर मन्दिर रहन्न
देवता देवता रहन्न
बरु देवता आफूले आफैँलाई थेग्न सक्दैन
चिप्लेर झर्छ एक पत्थरजति
पूजारीको बाँझो निधारमाथि
जिन्दगी तार्ने पुल भाँचिन्छ
गोठाला जाँदा ओत लाग्ने पहाड गुल्टिन्छ
सपना फुल्ने गाउँ उजाडिन्छ
लक्ष्यको शहर नाङ्गिन्छ
ज्ञान तिखार्ने स्कूल भत्किन्छ
जीवन उत्पादन गर्ने कारखाना ढल्छ
सहकालको जमिन मासिन्छ
चराहरु उडेर जान्छन्
जसरी धूलो उडेर गएको छ आकाशमा
कुकुर बिरालोहरु अलमलमा पर्छन्
घरहीन परिवारको नियति के हो ?
संसार हल्लाउछु भन्नेहरु
हल्लिन्छन् बच्चाझैँ कोक्रोमा
करोडपति र सडकछाप एकाएक
एकसाथ
जम्मा हुन्छन्
अलपत्र भएर टेन्ट र तिरपालमुनि
एउटा कायर शत्रुजस्तो
लुकेर या कसैलाई सोध्दै नसोधि आउने यो भूकम्पलाई
देखाइदिनेथेँ आतङ्कवादको घर
एक वचन मात्र पनि
सोधेर आएको भए
आतङ्कवाद,
जो भूकम्पभन्दा पनि भयानक बनेर
मानवतावाद विरुद्ध
जाइलाग्ने गर्दछ ।

जेठ ३ २०७२

म, मेरो छोरा र पश्यताप

By : Desh  Subba

मेरो छोरा स्कूलबाट आयो
शिक्षकले सजाय दिएको सुनायो र
सम्झी सम्झी आँसु बगायो...
त्यसले चिर्यो छाती
म दुःखिरहे
उसको घाउलाई मायाले मुसारिरहें

ममताको रेखा कहाँ टुङ्गीन्छ सोचें
जब यो हिँड्छ, शीत पर्छ छातीमा
आँखामा वर्ष्षा हुन्छ
कतिपय उसको सानो प्रश्नले
मेरो फुल्दै गरेको दिमागको पुरानो रुख हल्लाउँछ
ती सानो प्रश्नको
उत्तर नपाएर हैरान हुन्छु
यस्तै जिज्ञासा खेलाउँदै
ऊ हुर्किन्छ र जवान हुन्छ
ऊ सुतेको बेला नरम हेरिरहन्छु
मायाले छोप्छु
त्यो मायाको रंग के होला सोच्छु
आज उसको आँगनमा बस्नुछ
धेरै पटक टारेको छु अनुरोधलाई
ऊ खेल्छ
ऊ मलाई बोलाउँछ र जोड्छ
यो विचित्रको अनमोल अनुभूति
विचार गर्छु कुन सुनसँग तौलौ
ऊ सानो हातले घचेटेर दौडाउँछ सानो संसार
ऊ हाँस्छ, ऊ हाँसेको हाँसोमा म हाँस्छु
हामी छुट्टै प्रकृति बनाउँछौ र खेल्छौ
मैले उसको खेल खेलें
खेल्दै सोचें मेरो साथीको छोरालाई
उसले पनि यसरी खेलाएको देखेको थिएँ
उसले पोखेको त्योबेलाको माया
मेरो अगाडि फुलिरहेको छ
म उनीहरूको छिमेकी
मैले देखेको छु सिस्नुको भात खाएर काटेका दिन
मैले सुनेको थिएँ आँसुले टालेका रात
मेरो साथीको काँधमा
अझै होला छोराले टेकेकोे घाउ
जब त्यो छोरा हुर्किन्दै गयो
त्यसमा देखियो साँढे आँट
स्वतन्त्रताको हुँकार पनि सुनिन थाल्यो
मैले परैबाट बाढी पैरोको आवाज सुन्न थालें
यो सुक्खा मौसममा उदेक हुने कुलक्ष्यण देखेर
काम्थें भित्रभित्रै
जुँगाको रेखा देखिएपछि
धमिलो आकाश साथीको परिवारमा घुम्न थाल्यो
वरपर साँढे गर्जन सुनिन थाल्यो
बिस्तारै आमाबाबाको जमिन हल्लिन थाल्यो
हेर्दा हेर्दै त्यो मुटुको टुक्रा
परिवार हान्ने भयानक साँढे बनेर निस्कियो
पहिला त उसले आमाको सुन सक्यो
अनि बाबुले पसिनाले जोडेको सम्पत्ति
उसलेबिर्सियो त्यो बाबुलाई
जसले त्यागे सपनाको काठमाण्डौं
उसले बिर्सियो ती आमालाई
जसले त्यागिन् वैंश फुलेको वनपाखा
आमाका थिए सुनका रहर
सबै रहरले सुनौलो भएका बेला
उनी टालोहरू टालिरहेकी हुन्थिन्
पियारो छोराले
आमाबाबाको वैश, सौन्दर्य सम्पत्ति, प्रतिष्ठा
सबै चुसेर खोक्रो बनायो
अनि वृद्ध वृक्ष छोडेर बाटो लाग्यो
फर्केर आएन
मसितै खेल्दै गरेको छोरा पनि
कुनै दिन यस्तै नहोला र
यसको बाढी आएको कुसमयमा
ऊ मात्र अपवाद होला र
समाजमा मडारिन्दै गरेको कालो बादलले
किन मुटु चुस्छ
घरघरमा पसेको चिसो बतासले
मकाउँदैछ सुन्दर घर र
उठाउँछ सुखको बास
सुखशान्ति तोडिन्दैछ घरआँगनमा
असल नागरिक बन्ने बच्चाहरू
सैतानको हातमा परिरहेका छन्
मैले बच्चालाई सैतान बग्ने हावावाट
कसरी जोगाउने होला
मजस्तै धेरै आमाबाबालाई हावाले खाएको छ
समयमा जोगाउन सकिएन भने
हाम्रा फूलहरूमा काँडा उम्रिनेछ, विष फल्नेछ
त्यो विष घोलिनेछ सुखको हाम्रो थालीमा
त्यो मन्दविषले हामी पहिला घायल हुनेछौ
र बिस्तारै छटपटिन्दै मर्नेछौं ।

आँधीको गीत

By: Arohi g (Jeeban Chamling)

बुज्रुक मनमा
चुटिन मात्रा बाँकी
हारिका अन्तिम डोरी झै...
किन लिलिपुटको पगरी निर्माण गर्दैछ
यो ब्रम्हणबादको अबसेस
जडसुत्रका बैशाखी हालेर ?

यहाँ
सामुन्नेबाट आइरहेका क्यास्ट्रोहर,
वा दाँयाबाँयाबाट अनुहारमा चावेजका
मुस्कानहरु आइरहेछन र
पछ्यौरामा उन्मुक्ती गीतका धुनहरु बोकेर
किसानअका खेतबारिमा
माओ रोपिरहेछन ।
खबरदार
चोमोलुङ्माको काखमा उभियर
चोमोलुङ्माकै हिमनदी छेक्न नखोज्नु ।
अर्थात आधीको बेगमा
अब तिमीले नखोज्नु बसन्ती समिर,
आँधीको बेगमा आइरहेछन
तिम्रो हिटलरी पुरातन साम्राज्य भात्काउन
'सिवान' का गाउहरु र
गाइहरेछन 'होचिमिन्ह'का स्वरमा
साम्य-साम्य रक्तिम गीत ।
समानताको गीत, संघियता र पहिचानको गीत ।
अब बिनाढिलाई
'थोराङ'को डाडामाथी निर्माण हुनेछ
तिमी बुज्रुकहरुको बधसाला ।
आधिको बेगमा
क्षितिजमा एकहुल मशाल
बसन्ती 'मुन्धुम' गाउदै
ओर्लिरहेछन ओरालो
तिम्रो हिटलरी सम्रज्यको उपत्यका जलाउन ।
ए ! बेहोसी हिटलर र मुसोलिनी हरु
तिम्रो पुरातन पैसाखी जलायर
अब खडा हुनेछ
यहाँ नयाँ युगको नयाँ धरहरा ।
जहाँ
क्षितिजमा उज्यालो कुरिरहेका पथिकहरु,
भर्खर खेतबारिबाट फर्केका किसानहरु,
वा आरोहणमा थाकेका गोडाहरु र
रङ्गिन आवाजको लस्कर
गाइरहेको होस समानताको गीत
एसबेला देश उन्तिम पटक उन्मुक्त हासोमा
सलाम गरिरहेको होस
' आँधी
बेगका किनराका यात्रीहरुलाई' ।

चियाको बुट्टा - म

By : Kabita Rai Ganule


प्रिय ,...
तिम्रो केवल एक नजरले
बर्षौ बाचेकीछु- म ।

सधै-सधैं
एउटै जिन्दगी बाँच्नुको पीडा
बाँच्नेलाई मात्र थाहा हुन्छ प्रिय ,
ठुट्टीएर पनि बुट्टा बाँच्नु पर्ने
- मेरो बाध्यता
आकाश छुने रहर भएर पनि
मुनामै टिपिएर फेरि पलाउनु पर्ने
- मेरो बाध्यता
तिमी के बुझ्थ्यौ र ?
म त चाहान्छु
तिमी यात्री भएर हैन
बरु बतास भएर आउ
मलाई मसार...
अनि चुम
मेरो प्रतेक अंग-अंगलाई
गाउ एउटा गीत मीठो धुन मिलाएर
.....मेरो नाममा,
बल्ल थाहा हुनेछ तिमीलाई
बगान भित्र कैद
मेरो जीवन लय
अनि
महशुस हुनेछ तिमीलाई
चियाबारीको
मेरो
अपुरो ठुट्टे जिन्दगी......
अधुरो बुट्टे जिन्दगी ....!

मेरी याङ्सिला र घर

By : रिना बम्जन 'तामाङ'

प्रकृतिले लुटेको...
बैशाख बाह्रसँगै
बस्तीहरूमा
ठूलो
मानव नरसंहार
लाशहरूको लस्कर
सपनाहरूको
निमेषमै
कन्त बिजोक ।

हूरीले खच्याखुच्युक
बनाएको,
मुसलधारे बर्षाले
निथ्रूक्क भिजेको पालमुनि
क, ख, ग गर्दै
सिसाकलमको सहायताले
जिन्दगी कोर्ने कसरत गर्दैछे
खाली पानाहरूमा,
जिन्दगी पढ्ने सपना देख्दैछे
तिर्मिर्उने स-साना अक्षरहरूमा
हो, मेरि सानी
बहिनी याङ्सिला ।
अबोध छे ऊ
प्रकृतिको कुरूप तान्डवहरूसँग
मात्रा प्रश्न गर्छे आपासँग
आपा !
हामी घरमा नबस्ने ?
आपा नाजवाफ !!
आधा मुजा फुस्किएको
आधा मुजा जोडीएको
पोलिस्टरे घाँगरमा सजिएकी
मेरी याङ्सिला,
यहिबेला
टालाटुली बटुली भन्छे-
नाना ! खेलौँ न !'
त्यही घाँगरको फेर भरि
मसिना ढुङ्गाहरू बटुल्छे
तर आधि बटुल्न नपाउँदै
आधि झरी सक्छ
घाँगरमा परेको
गरीबीको प्वालहरूबाट ।
बैशाख बाह्रसँगै
करोडौँ सपनाहरू
पोखिएका छन् यत्रतत्र
बेबारिस छन् जीवनहरू
जोर्दा, जोर्दै
टिप्दा, टिप्दै
अचानक झर्छन् आशाहरू
पोख्छन् खुशीहरू, सपनाहरू
जसरी. मेरी मायालु याङ्सिलाको
घाँघरबाट झरे ढुङ्गाहरू त्रमश: ।
यी भूलभूलैयाहरूमा
नतमस्तक मेरि मायालु याङ्सिला
अन्तत: निरास भएर
दुई ढुङ्गा ठाडो उभ्याएर
घर बनाउछे
र भन्छे- आमासँग
आमा !
"यही हो हाम्रो घर ।"
आमा, मात्र
मुसुक्क मुस्कुराउनु हुन्छ
उसको कलिलो मष्तिष्कको
खुबी र पौरखको नजर अन्दाज गर्न नसक्दा ।
आमा यो पीडा बोधले
आँसु खसाल्नु हुन्छ
प्राकृतिक विपत्तिले
विछिन्न बनाएको जीवनहरूको दुखाईमा ।

भुकम्पले ढालेको आफ्नै
छरप्रष्ट घरतिर
पुलुक्क हेर्दै
बेहद पीडामा ।
आमा र आपाको
मौन प्रतित्रियाले
ऊ ठुस्किन्छे
र फेरि सोध्छे
नाना !
राम्रो छैन, मैले बनाएको घर ?
रणभूमीमा युद्द लडेर
मृत्यृ जितेको
सैनिकको बेहद खुशी जस्तै
सपना र आस्थाहरूको अग्लो सगरमाथा जस्तै
अटल र दरिलो छ
तिमीले बनाएको घर
मेरी याङ्सिला ।
म-
जवाफ फर्काउछु ।
                    

Monday, June 22, 2015

आगोले जन्मोत्सव मनाउँदैन’बाट

By : भूपाल राई

त्यागेर आफ्नो सनातन गद्दी
राज्य हाँक्न निस्किएको
कुनै मध्ययुगीन राजकुमारजस्तै
अचानक
निस्किएको छ यात्रामा
एउटा त्रिकोण झण्डा
थाहा छैन
कुन राज्य हाँक्नु छ झण्डालाई ?
अथवा टेक्नु छ
निरपेक्ष दुबोहरुको पहिचान !
र निस्किएको छ यसरी
निषेधको यात्रामा
घुमाउँदै चन्द्र–सूर्यको
सुदर्शन चक्र
अटलसिं इतिहासको गर्धनमा
किन फहराइरहेछ गोरखा दरबारको धङधङी ?
र काट्तै पहिचानको उर्ध्वगामी टाउको
किन उत्रिरहेछ धर्मयुद्धमा
राष्ट्रिय झण्डा ?
कहाँ पुग्ला यो ?
यसरी मान्छेको विरुद्ध
काटेर मान्छेकै पखेटा !
कहाँ पुग्ला ?
दस लाख दुबोहरुको गिँडमाथि
चलाएर बिसे नगर्चीकालीन तरवार !
र कहाँ पुग्ला ?
साढे सत्र लाख मैदानको छातीमा
उभिएर अखण्ड अञ्चल !
मध्ययुगीन राजकुमारजस्तै
जो मात्र एकतर्फी यात्राको लागि
गर्छ यात्रा
के त्यही हो राष्ट्रिय झण्डा ?
झोसेर वंशज–आगोको वृक्ष
जो हुर्किरहेछ
नानीहरुको खाली गिदीमा
खै कहाँ छ त्यो चन्द्रवंशको स्थुल जरा
नानीहरुको माटोमा ?
कहाँ छ सूर्यवंशको इतिहास
तिनीहरुको माटोको किताबमा ?
तैपनि किन उत्रिन्छ
फेरि तिनीहरुकै विरुद्ध
मात्तिएर एक मिटर रङ्गीन कपडा !
के त्यही हो राष्ट्रिय झण्डा ?
र अखण्डताको नाममा
पर … पर …
जो फहराउँछ
नानीहरुकै पहिचानविरुद्ध
के त्यही हो राष्ट्रिय झण्डा ?
ओ ! सुरक्षा निकाय
प्रशासन
अदालत
र अखण्ड सरदारहरु
ठीक उल्टो यात्रामा उन्मुख छ
यतिखेर राष्ट्रिय झण्डा
जो क्रमशः फर्किरहेको छ
पृथ्वी राजमार्ग हुँदै
गोरखा दरबारको अतीततिर
कृपया, रोक त्यहीँनिर झण्डालाई
र आसीन गराऊ
एक नयाँ गद्दिमाथि
नत्र छुट्टिने छन्
यति लामो अन्तरालपछि
मान्छे र झण्डा
र उठ्नेछन् केही प्रश्नहरु –
‘कि रोकेर त्यही विन्दुबाट
विभेदको उल्टो यात्रा
किन हुन सकेन राष्ट्रिय झण्डा जस्तो
राष्ट्रिय झण्डा ?
किन विचाराधीन छ
यतिखेर राष्ट्रिय झण्डा ?’

हामी थाकेका छौं तर हारेका छैनौं

By :

त्यो समयपीड़ा नै थियो जसले थामेको थियो
यौटा आदिम डरको खुनी आकाश ।
त्यो पीड़ाको नाममा कुनै शब्द उम्रिएन ।
त्यो पीड़ाको अनुहारमा बस
हल्लिरहेको सहर थियो ।
हल्लिरहेको बस्ती थियो ।
हल्लिरहेको हिमाल थियो ।
पागल घोड़ाको टाप सुनेपछि
बचेखुचेका मुटुहरू आफ्नै गला रेटिरहेका छन् ।
छोरा गुमाएको बाबुको हृदयको कम्पन नाप्ने खै कहाँ छ यन्त्र ?
आँसुको सागरमा डुबेको छ समस्त ज्ञानको नाउ ।
असुरक्षित समयको बगरमा पल्टिएका छन्
प्रकृतिको काँचो पाउले कुल्चिएका समवेदनाका लाशहरू ।
हल्लिरहेको पृथ्वीभन्दा हल्लिरहेको मन
कत्ति खतरनाक देखिएको छ यत्तिखेर ।
हल्लिएर ढलेका घरभन्दा क्षत-विक्षत छन्
हल्लिएर ढलेका मान्छेका सपनाहरू ।
सारा-सारा गीत
सारा-सारा आवाज
सारा-सारा भावना
प्रकृतिको मूडसामु कुरूप बनेको अवस्था हो एकाएक ।
सड़कछाप भोकले रेटेको छ समस्त दर्शनको गला
शून्य आँखाको नानीमा ।
इमानहीन लोभले फुल्याउँछ जब निष्ठुर फना
साँपभन्दा डरलाग्दो देखिन्छ मान्छेको मन ।
भीरको फूललाई आत्महत्याको इच्छा हुन्छ
जब भीरले उसलाई भीरबाट ओर्लिनू भन्ने आदेश दिन्छ ।
निर्माणकालको बालक मुलुकको चेतनामा जब
वास बसेको हो डरछेरूवा डर
ध्वस्त भएको हो
स्वाभिमानको धरहरा ।
थाकेका छन् मन ।
अनुहारहरू पुरिएका छन् दुख्न भुलिएका चोटहरूले ।
आँखा ढाकेको छ मौन चित्कारले ।
हातहरू लतपत छ जमिएको चिसो खुनले ।
अट्टेरी पाइलाहरू चर्किएका बाटोमा
अघि बढ़िरहेका छन् यत्तिखेर गरप-गरप-गरप ।
च्यातिएको गाउँको छात्तीमा भग्नावशेषबाट उम्रिएको छ
कहिल्यै हार नमान्ने मान्छेको सपनाको पानीधारा ।
धुलो सोहोर्दै खेतमा घस्रिरहेको आलुको बीउले पर्खिएको छ
क्रूर रातलाई निद्रा लागेको समय ।
यत्तिखेर अशान्त एभरेष्टबाट
आएका आवारा हावाका झोंक्काले काँधमा खिलेका छन्
सिन्धुपाल्चोक कोदारी गोर्खा पाटनका आकाशभरि
भुइँचालोमा मारिनुको नाममा
एक-एक गीतको उपहार ।
र अहिले १० रिक्टरको वेगमा हल्लिएको विश्वासको फूल
शान्त छ
अर्द्धमुदित बुद्धको आँखाजस्तै ।
भत्किएको शहरको थुप्रो चिर्दै टाउको उठाउँछ
एउटा सिँगाने बालक
जसले बोकेको छ एक हातमा चन्द्र, अर्कोमा सूर्य ।
रोइरहेको भक्तपुरको अनाम कलाकारको छायाँसँग
सुइसुइला लगाउँदै जसले भनिरहेको छ –
हामी थाकेका छौँ
तर हारेका छैनौँ ।

पुनियानी भारतका खसनेपाली भाषाका कवि हुन् ।