Monday, July 27, 2015

गहुँगोरो अफ्रिका

By:आहुति

मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

म न्याय चाहन्छु
म मुक्ति चाहन्छु !
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या
जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात
त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन? म सर्वत्र छु !
मलाई तिमी कसरी 'अछूत' बनाउन सक्छौ 'छूत' मान्छे?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !

No comments:

Post a Comment