Monday, November 30, 2015

मलाला युसुफजाइलाई अनुरोध

By:मनु लोहोरुङ्

ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,


ओ मलाला !
तिमीलाई थाहा छैन होला
तिम्रो बुर्का भन्दा केही फरक छैन
मेरो गाउँको संकीर्ण विचार
मेरो शहरको हिंस्रक कार्य,
मेरो समाजको अचेतना
तिम्रो बुर्काले त केवल
तिम्रो मुहारको सुन्दरता मात्रै छोपियो
तर संकीर्ण विचारले त
खोसिन्छन्,यहाँ इमान्दारका अवसरहरू
लुटिन्छन्, यहाँ गाउँमा गरिबीको पसिना
छोपिन्छन् यहाँ शहरमा ज्यादतीहरू


थाहा छ ? तिमीलाई कन्चटमा ताकेर
मार्न खोज्ने तालेवानी बिद्रोही भन्दा
कम खतरनाक छैन
मेरो अर्ध-चेत संस्कार
किन कि तिमी जस्तै
थुप्रै नारीहरूमाथि घरेलु हिंसा खनिन्छ
र यहाँ समाज निदाउछ
मेरो कानून बिक्छ = पैसामा
मेरो प्रसाशन बाँच्छ = गुण्डामा
मेरो न्याय लहसिन्छ = नेतामा
र सत्य साटिन्छ = नातामा

ओ मलाला !
तिम्रो आवाजहरू उज्याउन
मेरो रस्ती वस्तीमा पनि एक पटक जन्मिऊ न !
मेरो गाउँ ब्युँझियोस्
मेरो शहर झस्कियोस्
कि म चाहन्छु,
- प्रत्येक अँध्यारा गल्लीहरूमा
- शहरका चौक-डबलीहरूमा
- प्रत्येक अन्धो दिमागहरूमा
नारीको अस्मितामाथि
न्यायको हुंकार बोलियोस्,
बोलियोस्, परआत्मामाथि गरिने
कुठाराघातहरूमाथि निसाफ
अधिकार शक्तिमा बदलियोस्
न्यायको आभास बदलियोस

आडम्बरका महलहरूभित्र
उठाईका अधिनायक दिवारहरूबाट
निस्किउन् मानवीय चेतका गुञ्जनहरू

ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,
मेरो देशलाई................!

एउटा धूर्त बकुल्लो

By :चन्द्र गुरुङ

आँखाहरू बन्द छन्
अनुहारभरि फैलिएको छ मौनता ...
एक खुट्टामा उभिएर
ध्यानमग्न छ बकुल्लो ।


कति शान्त
कति सौम्य
कति शालीन
र, भद्र अनुहार ।

कुनै
तपस्यालीन साधु जस्तै
भजनको संगीतमा डुबेको भक्त जस्तै
मस्त आत्मा जस्तै ।

अभ्यस्त छौ
साथको अभिनय गर्न
गहिरो मित्रताको नाटक खेल्न
सद्भावको ढोँग रच्न ।

तर,
धेरै पटक देखेको छु
तिमीले ओठमा बोक्रे मुस्कान उमारेको
झारेको गोहीको आँसु
चुपचाप उभिन्छौ
मनमा कपटपूर्ण जाल बुन्छौ
पर्खी बस्छौ मायाप्रेमको आकाश फिँजाई
आफ्नो आहारा छोप्न ।

जहिले देख्छु
तिम्रो मुखमा कुनै निर्दोष रगतको छिट्टा
छट्पटाइरहेको कुनै अभागी जलचर ।
र,
हेर्दाहेर्दै
भर्खर, तिमीले चेप्न भ्यायो आफ्नो तेजधार चुच्चोमा
एउटा निर्दोष माछो !

फ्रीडा काहलोको जुँगा

By : अशरफ फयाद


म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई
र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई ।
म आफ्नो हालको लागि सही राहत खोज्दैछु,
जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु
या म झार्न सकूँ तिम्रो रातो पत्रदलमा जमेको कुइरोको थोपो
या झाँेकको गतिलाई गर्न सकूँ सुस्त जो फैलिन्छ ममाथि
जब यो अनुभव हुन्छ कि
तिमी छैनौं यस घडी मसित
र रहने छैनौं... जब मलाई आफ्नो स्थिति साबित गर्नको लागि
विवश गरिन्छ रातको कातिल मौनताअघि
नाटक गर कि धर्ती मौन छ, जस्तो कि टाढादेखि हेर्छौं हामी यसलाई
र हामीबीच जे भयो त्यो लामो चलेको कुनै भद्दा मजाकभन्दा धेरै केही थिएन !

तिमी के सोच्छौ ती दिनहरूबारे जुन मैले तिमीविना बिताएँ ?
ती शब्दहरूका बारेमा जो मेरो भारी दुखाइबाट यत्ति चाँडै वाष्पित भए ?
ती गाँठबारे जो मेरो छातीमा सुकेको लेउझैं जमेका थिए ?
मैले तिमीलाई भन्न बिर्सें कि मलाई तिम्रो अनुपस्थितिको बानी परिसकेको छ (यान्त्रिकी रूपमा भन्नुपर्दा)
र शुभकामनाहरूले तिम्रो इच्छाहरूको बाटो बिर्सिसके
र मेरो स्मृतिलाई बिर्सिदिएको छ
कि म अझै पनि गरिरहेछु उज्यालोको पिछा, हेर्नको लागि होइन, किनभने अँध्यारो खतरनाक छ, हामीलाई यसको बानी परिहाल्ने पनि !
के मेरो क्षमायाचनाले पुग्छ ?
ती सबको लागि जो घटे त्यस दौरान जब म राम्रो बहाना गर्ने कोसिसमा रहेँ ।

हरेकपटक ईष्र्या उठिरह्यो मेरो छातीमा
हरेकपटक निराशाले मेरो अँध्यारो दिनहरूको एक नयाँ दिन बर्बाद ग¥यो
हरेकपटक मैले भनेँ न्यायलाई हुनेछ महिनावारीको कष्ट र प्रेम आफ्नो ढलिरहेको उमेरमा एक कमजोर दिमागी मान्छे थियो
जो नपुंसकताले ग्रस्त थियो ।

मलाई आफ्नो स्मृतिहरूदेखि जोगिनुछ
र घोषणा गर्नुछ कि म मस्त सुत्छु
मैले ती प्रश्नहरूलाई च्यात्नैपर्नेछ
जो खोज्दै आएका छन् तर्क, सटीक जवाफ पाउनका लागि
ती प्रश्नहरू, थुप्रै निजी कारणहरूले स्वाभाविक विराम खसेपछि आएका हुन् ।

ऐनालाई भन्न देऊ कि तिमी कत्ति सुन्दर छौ
हटाऊ धुलो भरिएको आफ्नो शब्दहरूको थुप्रोलाई ,गहिरो सास लेऊ
याद गर कत्ति माया गर्थें म तिमीलाई,
अनि कसरी सबथोक फेरियो बिजुलीको एक झट्कामा
जो हुनसक्थ्यो भयानक आगोको कारण ...एउटा खाली गोदाममा ।
फ्रीडा काहलो प्रसिद्ध मेक्सिकन पेन्टर हुन्, जसले आफ्नो ‘सेल्फ प्रोट्रेट’मा जुँगा बनाएकी थिइन् ।
अनुवाद ः चन्द्र गुरुङ

म वेश्या

By : नीभा शाह

म वेश्यासंग
त्यत्रो साहस
कहाँ छ र हजूर ?
शहीदको रगत
मदीरा बनाएर
घटघटी पिउने साहस ???

म वेश्यासंग
त्यत्रो साहस
कहाँ छ र हजूर
शहीदको रगत
पिएर फेरी
जिउने साहस ???

म वेश्यासंग
म जस्तै साहस छ हजूर,
गुन्युं खोल्ने साहस
हो, मैले गुन्युं खोलें हजूर !!!
शहीदको रगत चुस्ने
तिम्रा ओठहरुभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुसेका
मेरा ओठहरु,
हो, म वेश्याका ओठहरु !!!

शहीदका छाती गिजोल्ने तिम्रा
रुखा हातहरु भन्दा
पवित्र र चोखा छन्
मेरा छातीहरु
हो, म वेश्याका छातीहरु !!!

शहीदको यौनांग चुठ्ने
तिम्रा यौनांगभन्दा
पवित्र र चोखा छन्
हजारौंले चुठेका
मेरा यौनांगहरु,
हो, म वेश्याका यौनांगहरु !!!

अझै गुन्युं खोलूँ हजूर ?
तिम्रा राता साडीले
छोपेर राखेका
तिम्रा राता
मार्क्स र लेनिनभन्दा
पवित्र र चोखा छन्
मेरा नांगा
मार्क्स र लेनिनहरु
हो, म वेश्याका मार्क्स र लेनिनहरु !!!

हो, म र
म जस्तै नांगी, चोखी र पवित्र
नांगीहरुले
च्यात्नु छ,
तिम्रा राता बुर्का भित्रका
छोपिएका, लुकाइएका
कुरूप मार्क्स, लेनिन र माओहरुलाई
र उदांगो पार्नु छ
मेरा चोखा
मार्क्स, लेनिन र माओहरुलाई .......