Saturday, December 19, 2015

बदला

Taha Muhammad Ali, a Palestinian poet.
–ताहा मुहम्मद अली

कहिलेकाहीँ ...म कामना गर्छु
भेट्न पाए हुन्थ्यो युद्धमा
त्यो मान्छे जसले मेरो बाबाको हत्या गरेको थियो
र हाम्रो घरलाई ध्वस्त पार्दै
निष्कासित गरिदिएको थियो मलाई
एउटा सानो देशमा
र यदि उसले मलाई मारिदियो भनेँ
म आराम पाउँथे अन्ततः
र यदि म तयार भए
म आफ्नो बदला लिने थिए ।

तर जब मेरो प्रतिद्वंदी प्रकट हुन्दा
यस्तो थाहा पायो भनेँ, कि
उसको एक आमा छ
उसको पखाईमा बस्ने
या एक बाबा छ जो राख्छ
आफ्नो दाहिने हात
आफ्नो छातिमा मुटु भएको त्यो ठाउँमाथि
भेट को लागि उनले तय गरेको समयमा
मात्रै केही पौने घण्टा जत्ति
जहिले उसको छोरो ढिलो आउँदा–
तेसो भए म उसको हत्या गर्दिन
मैले सक्ने भए पनि ।

यस्तै... म
उसको हत्या गर्ने छैन
यदि चाँडै यो प्रष्ट पारिन्छ भनेँ
कि उसको एक भाई वा बहिनीहरू छन्
जो उसलाई माया गर्छन् र निरन्तर भेट्ने आश गर्छन्
या उसलाई स्वागत गर्ने श्रीमती छिन्
र बच्चाहरू जो
उसको अनुपस्थितिलाई सहन सक्तैनन्
र जसलाई उसको उपहारले खुशी पार्ने गर्दछ
या यदि उसका छन्
साथी–सँगीहरू
छिमेकीहरू जसलाई ऊ चिन्दछ
या साथीहरू जेलका
या अस्पतलाको एकै कोठाका
या स्कूले दिनका सहपाठीहरू ...
उसको बारेमा सोध्दै
र पठाउँछन् उसलाई सलाम ।

तर यदि ऊ
अगाडि पछाडि कोही नभएको–
रुखबाट काटिएको एउटा हाँगा जस्तो
आमा या बाबा नभएको
साथै भाई वा बहिनी पनि नभएको
पत्नीविहीन, निःसन्तान
र नभएको कुनै भाईबन्धु, छिमेकी या साथीहरू
सहयोगी या सहकर्मीहरू
तेसो भए म उसको दुःखमा केही थप्ने छैन
त्यस एक्लोपनमा–
मृत्युको कष्ट थप्ने छैन
र मरेर जानुको दुःख पनि ।

बरु म खुशी हुने छु
उसलाई बेवास्ता गर्दा, जब उसको छेउबाट हिँड्दा
गल्लीतिर– र म
आफैलाई शान्त पार्ने छु
कि उसलाई ध्यान नदिनु पनि
आफैमा एकप्रकारको बदला हो ।

Transleted by : Chandra Gurung

मरूभूमि : एक मृगतृष्णा जीवन

BY : Chandra Gurung

अनुहारको क्यानभासमा
एक धर्सो मुस्कान कोरिएको छैन
गालामा हर्ष फुलेको छैन
रङ्गका सारा पुतली उडी गएको बगैँचाजस्तो
उजाड र खल्लो मरुभूमि !
चारैतिर
जीवन सुकिसकेका पातपतिङ्गर
यौवन सुम्सुम्याउन आउँछ हावाको शुष्क हात
उमङ्ग मरिसकेका सुनसान आँखा
भित्रभित्रै अग्लिरहेको एक्लोपनको हिमाल !
दिनैभरि
आँखा जुधाउँछ अल्लारे घाम
जिस्क्याइरहन्छ हावाहुरी
आफ्नो बैँसले कुनै बटुवालाई फकाउँला झैँ लाग्छ
हाउभाउले कुनैलाई लठ्ठ्याउँला झैँ लाग्छ
प्रेमिल अँगालोको पर्खाइमा
बाँचिरहेको एक बेहुली सपना !
यो मरूभूमि
छातीमा हरियो खजुरको बोट सजाउँदै
सिउरिँदै कानको चेपमा आत्मविश्वासी सिउँडी फूल
सामेल छ इच्छाहरूको क्याराभानमा
एक मृगतृष्णा जीवन !

मरम अल-मसरीका केही टुक्रा कविताहरू

मरम अल-मसरी सीरियाली कवि हुन् । मरम अल-मसरीका केही टुक्रा कविताहरू...

1.
मलाई लाग्यो
त्यो तिम्रो कदमको आवाज हो
मेरो मुटुमा भइरहेको
तेज धुकधुकी ।


2.
तिमी कति अलग छौ ती सबैभन्दा
तिम्रो विशेषता हो
तिम्रो ओँठमा बनेको
मेरो चुम्बन ।

3.
कोही खटखटाउँदै छ ढोका
को ?
सफा गरी गलैँचामुनि गरिदिन्छु
आफ्नो एक्लोपनको धूलो ।
एउटा मुस्कानको व्यवस्था गर्दै
खोली दिन्छु ढोका ।

4.
नूनको दानाझैँ
उनीहरु चम्किए
र गलेर गए ।
यसप्रकार हराएर गए
ती लोग्ने मान्छेहरू
जसले मलाई माया गरेनन् ।

5.
बाहिर अँध्यारोमा
म कापिरहेकी छु चिसोले
तिमी
किन खोल्दैनौ मेरो लागि
आफ्नो कमिजको ढोका ?

Translet By : Chandra Gurung 

देश

By : Chandra Gurung
 
आकाशको कौसीबाट
तुर्लुङ्ङ झुन्डिएको जूनको त्यो फुर्को
तिम्रो जीवनको अँध्यारो बाटोमा उज्यालो हिँड्छ
मेरा उराठ पलहरूमा खुशी मुस्कुराउँछ
त्यो तिम्रो पनि हो
त्यो मेरो पनि हो
सुन्दर जून जस्तै हो देश ।


घाम उकालो उक्लन्छ
घाम ओरालो ओर्लन्छ
तिमी आफ्नो मुटुमा घामको न्यानो भर्छौ
म एक किरण रोशनीले यी आँखा रङ्ग्याउँछु
उज्यालो र सुखद
सुनौलो घाम जस्तै हो देश ।

क्षितिजका टिलपिल ताराहरू
तिमी ती तारालाई मनमा आशा मानेर सजाउँछौ
म टीका बनाएर निधारमा राख्छु
आत्मीय र मायालु
चम्किलो तारा जस्तै हो देश ।

यी सेता हिमाल
तिमी आत्मविश्वासको प्रतीक मानेर ढोग्छौ
म साथको साथी मानेर पुज्छु
शान्त र गम्भिर
पवित्र हिमाल जस्तै हो देश ।

यो बतास
तिम्रो मनको डाँडाकाँडा खुशी बोक्दै आउँछ
मेरो जीवनको फाँटभरि सद्भावको कोशेली लिएर डुल्छ
सबको मन हर्ने
निश्छल बतास जस्तै हो देश ।

त्यो अँगालोमा
तिम्रो दुःखव्यथाको सारा संसार सजिलै अटाउँछ
मेरो जीवनभरिको थकान सिनित्त मेटिन्छ
सहृदयी मायाले बेर्ने
विशाल समुद्र जस्तै हो देश ।

यी फूलहरूमा
तिमी आफ्नो रगतको रंगले जीवन भर्छौ
म मेरो पसिनाले सौन्दर्य थप्छु
साझा फूलबारी, र
सुगन्धित फूल जस्तै हो देश ।

साथी,
तिम्रो आँसुमा रसाउने त्यो एकजोर बूढौली आँखा
मेरो खुशीमा फुल्ने त्यो चोखो अनुहार
मनको भित्तामा फ्रेमबद्ध
ममतामयी आमा जस्तै हो देश ।