Saturday, December 19, 2015

मरूभूमि : एक मृगतृष्णा जीवन

BY : Chandra Gurung

अनुहारको क्यानभासमा
एक धर्सो मुस्कान कोरिएको छैन
गालामा हर्ष फुलेको छैन
रङ्गका सारा पुतली उडी गएको बगैँचाजस्तो
उजाड र खल्लो मरुभूमि !
चारैतिर
जीवन सुकिसकेका पातपतिङ्गर
यौवन सुम्सुम्याउन आउँछ हावाको शुष्क हात
उमङ्ग मरिसकेका सुनसान आँखा
भित्रभित्रै अग्लिरहेको एक्लोपनको हिमाल !
दिनैभरि
आँखा जुधाउँछ अल्लारे घाम
जिस्क्याइरहन्छ हावाहुरी
आफ्नो बैँसले कुनै बटुवालाई फकाउँला झैँ लाग्छ
हाउभाउले कुनैलाई लठ्ठ्याउँला झैँ लाग्छ
प्रेमिल अँगालोको पर्खाइमा
बाँचिरहेको एक बेहुली सपना !
यो मरूभूमि
छातीमा हरियो खजुरको बोट सजाउँदै
सिउरिँदै कानको चेपमा आत्मविश्वासी सिउँडी फूल
सामेल छ इच्छाहरूको क्याराभानमा
एक मृगतृष्णा जीवन !

No comments:

Post a Comment