Monday, July 27, 2015

धर्मको नाममा

By : Indra Narthunge

छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर
घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा
जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर...
एउटा ढुङ्गालाई थपना राख्छ मान्छे
र,
सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै
धर्म गरें भनी मख्ख पर्छ ।

आफू झैं मृत्यु पर्खिरहेको
कुनै अरिमठ्ठे बोकासँग सिङ्मा सिङ जुधाउँदै
बल दँजाई रहेको कालो बोकालाई तानेर
अचानोको सामु पुर्याउँछ मान्छे
र,
लामो कट्टीले एकै चोटमा छिनाई
रगतको सिर्का हानिरहेको गर्धन मुखमा लाएर
धर्म गरेको नाममा हेर...हेर...चिच्याई रहन्छ ।
कयौं माईल हिंडेर नाङ्गो खुट्टाले
फतक्कै जवानी गलेको बेला
थुचुक्क बसेर जमिनमा
समय उघ्राई रहेको रांगालाई
तान्दै मूर्तिछेउ पुर्याउँछ मान्छे
र,
लामो खुँडा निकालेर गर्धनमा छप्काउँदै
धर्मको नाममा स्याब्बास् कराउँछ ।
कतै धर्मकै निम्ति,
उज्यालोको पखेटा नखस्दै धरामा
स्निग्ध हिमाललाई कालो बादल ओढाइन्छ
र,
साना दुई आँखे प्वालबाट चिहाउन
बाध्य पारिन्छ खुल्ला संसार ।

कतै, चढेर पनि सँगै यौवनको डुङ्गा
किनारामा उत्रिएपछि
धोयर सहयात्रीको पाईताला पानीले
त्यही पानीलाई अमृत जल मानेर
श्रद्धा प्यूनु पर्ने बिवसता छ धर्मको नाममा ।
यहाँ,
मन्दिर बनाईन्छ
मस्जिद सजाईन्छ
चर्च उभ्याईन्छ
गुम्बा दँजाईन्छ
र,
आपसमा निषेध हुर्काईन्छ धर्मको नाममा ।

यहाँ,
बन्दुक उठाईन्छ
मान्छे मारिन्छ
मान्छे रेटिन्छ
मान्छे काटिन्छ
र,
मान्छे आफै पड्किन्छ धर्मको नाममा ।

र, म
धर्मको बिरुद्धमा
धर्मको बिपक्षमा
मूर्दाबादको नारा लगाईरहेछु
केवल धर्मको नाममा ।

इन्द्रेणी गीत

By : Indra Narthunge

घाम र पानी
चढेर बायूपंखी घोडा समयको
जब सँगै झर्छन् धर्तिमा...
तब,
आकाशले इन्द्रेणी माला लाउँछ ।

सुख र दु:ख
बनेर रथका दुई पाङ्ग्रा
जब गुडाउन थाल्छ जिन्दगी
तब,
समयले इन्द्रेणी गीत गाउँछ ।

फाइनल म्याच

- आहुति
११ श्रावण, २०७२- विभेद विरुद्ध अभियान ।

हातमा ज्यावल या कहिले हतियार
सम्झेर सुरक्षित
निर्भय
मस्त निदाएँ युगौंयुग
तड्पेर ब्युझँदा
ममाथि शोषण गरिरहेका थिए
हातमा किताव बोकेका मानिसहरू !
हतार हतार
मैले पनि उठाएँ कलम
लेख्न थालें
बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !
हातमा कलम या कहिले किताव
ठानेर सुरछित
निस्चिन्त
फेरि निदाएँ वर्षौंवर्ष
झस्केर उठ्दा
ममाथि शासन गरिरहेका थिए
हातमा हतियार बोकेका मानिसहरू !
कहिले हुन्छ मेरो मुक्ति
कहिले हुन्छु म स्वतन्त्र
ज्यावल र हतियार बोक्छु
म शोषित नै भैरहेको हुन्छु
फेरि कलम र किताव बोक्छु
म शासित नै भैरहेको हुन्छु !!
अबदेखि
स्वास अक्षरहरूको लिन्छु
प्रस्वासमा फाल्न सिक्नेछु बारूद
कलमले संवाद गर्छु
प्रतिवादमा तयार राख्नेछु हतियार
  किताव र हतियार बोकेर एकसाथ
म कहिले निस्चिन्त रहने छैन
मस्त निदाउने छैन एकपल
कलम भिर्दा भुल्ने छैन हतियार
हतियार बोक्दा बिर्सने छैन कलम !
संभवत
अब भने रोचक हुनेछ
यो ऐतिहासिक महासंग्रामको
फाइनल म्याच !
- साभार- रेकर्ड नेपाल

* अजम्बरी गीत *

By : Sanjiv Rai

कविताको आकाशबाट
भुर्र उडेर आयो एउटा जुरेली
र गाउन थाल्यो जिन्दगीको हाँगामा बसेर...
मान्छेलाई मन पर्ने गीतहरू

पहिलो अन्तराको पहिलो पङतिबाट
उपमा टिप्यो सौन्दर्यले
अन्तरालमा क़मशः
उमङगको पाइला टेक्दै शिखर चढिरह्यो प्रेम र शान्तिसँगसँगै
गीतकै उज्यालो पाएर अनि
चहकियो एकाएक
पीडाको बादलमा छोपिएको अनुहारको उदास जून पनि
गुन्गुनाउदै
मान्छेलाई मनपर्ने उहि गीत
यतिखेर भने
त्यो विद्रोही गाय्
अध्याँरोमा रमाउने शासकको
अराजक उपत्यकाबाट आतङक मच्याउदै बहनि
हावाको कठालो समातेर
दौडाउदै आइरहेछ परिवर्तनको घोडा
ऑधीको वेगमा
गुञ्जायमान छ मुक्ति र उन्मुक्तिका रीचाहरू#
कविताको आकाशैभरी
यस बेला हेर्न लायकको छ
अनुहार, भयाक्रान्त मृत्यूको ।

शब्दपीडा

By :
.....
विप्लव ढकाल
...
शब्दको भीरबाट लडिदिन्छु
कि शब्दकै अग्निकुण्डमा हाम्फाल्छु !
कि शब्दको तीरले घोचिन्छु
कि शब्दकै तुइनमा झुण्डिएर
तर्छु दुःखको कर्णाली !
.....
शब्दद्वारा कुटिएर मर्छु
कि शब्दद्वारै टोकिन्छु, लुछिन्छु, चुँडिन्छु !
कि शब्दकै तरबारमा
रेटिदिन्छु विचारको गला !
.....
कविता जन्मिदैन भने के भो त ?
कि म यो निर्मम शब्दब्रह्मको वध गर्छु
कि शब्दको कालकूट पिएर
शब्दकै समुद्रमा
सुतिदिन्छु चिरकालसम्म ... !!
.....
(वि. सं. २०७२ श्रावण २ गते
त्रिभुवन पार्क, थानकोट)

गहुँगोरो अफ्रिका

By:आहुति

मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

म न्याय चाहन्छु
म मुक्ति चाहन्छु !
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या
जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात
त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन? म सर्वत्र छु !
मलाई तिमी कसरी 'अछूत' बनाउन सक्छौ 'छूत' मान्छे?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !

Monday, July 6, 2015

नूरलाई अन्तिम प्रेमपत्र-3

By : Dilip Rai Sagar

प्रीय फूल नूर !
म बली चढ्न जादैछु
तिमिलाई...
प्रेम गरेको अपराधमा ।

हो मलाई मुहल्लाहरुले कालो नोकअफ
ओडाईदिनेछ सहरको बीच चौकमा
अनि पढिनेछ कुरान
र बाच्नेछन जोड जोड्ले प्राथनाहरु
बजाइनेछ्न बाजा नगराहरु डनन डनन
अन्तिम यो घडिमा
सम्झन्दैछु हामी हिडे डुलेको रेगिस्तानहरु
हामीले हांसे बोलेको मधूर बचनहरु
अग्लो झ्याम्म खजुरको बोटमा
तिमी र मैले मिलेर
राज*नूर लेखेर पानको पात कोरेको
आई लव यु नूर !
मेरो जीवन
हाम्रो प्रेमको लागि
यहिको भुमीमा विसर्जन गर्दैछु
अत मेरो लासले
बागमतिको पानीमा पखालिन पाएन
आर्यघाटमा पोलिन पाएन
आफन्तले देख्न पाएन ।
तिमिले नि देख्ने छैनौ
र त यो मेरो पत्र सादिकबाट अन्तिम भेट दिन
आउनेछ तिमिलाई
एक पल्ट पढी चुमेर जलाईदिनु
र यो राजलाई सदालाई भुलिदिनु
म यहीको परिवेसमा
हावा भएर घुमिरहनेछु/ डुलिरहनेछु
वर्षा बनेर बर्सिरहनेछु
यहीको भुमी मलिलो पार्दै
फुलिरहनेछु / फलिरहनेछु
प्रेम-क्याक्टस भएर ।
मेरी प्रीय नूर !
म सो सँसार छाड्दैछु
तिमिलाई
प्रेम गरेको आरोपमा !

भबिस्यबाणी

By :
राजकुमार बगर

भोलिको कुनै एक दिन
मान्छेको देश
माछाको देश जस्तै हुनेछ
मान्छेको महादेश
माछाको महादेश जस्तै हुनेछ
र मान्छे माछा जस्तै हुनेछ भोलिको कुनै एक दिन
बलिस्ठ माछाहरु माछाकै पसल थाप्नेछन
बलिस्ठ माछाहरु
माछाकै भोज खानेछन
निर्बल माछाहरुको अस्थिपन्जरको लागि
हिङ्सा भित्र हिङ्सा हुनेछ
युद्ध भित्र युद्ध हुनेछ
मृत्‍यु बहुलाउनेछ् अघाउन्जेल रगत पिएर
जीवन चक्र बद्लिनेछ् एकाएक जब
झरी बग्नेछ् नदिमा अबिरल
पैरो बग्नेछ नदिमा अबिरल
बाढी ग्रस्त नदिमा
बाढी ग्रस्त माछाहरु
कुनै ढुङ्गामा ठोक्किएर
कुनै किनरामा ठोक्किएर
कुनै आ आँफै ठोक्किएर
भयभित मृत्‍यु मर्नेछन
त्यतिबेला,माछाको देश हराउनेछ
माछाको माहादेश हराउनेछ्
यश र भेश हराउनेछ माछाहरुको
हार्न नचाहनेअहङ्कारी माछाहरु
जित्ने भ्रममा
नदिभरी आगो लगाउनेछन
नदिहरु धुवा धुवा हुनेछन
माछाहरु खरानी खरानी हुनेछन
माछा नदिको हुनेछैन
नदी माछाको हुनेछैन
केबल शुन्य,शुन्य र शुन्यले
जताततै झन्डा गाड्नेछ् भोलिको कुनै एक दिन...............!!!

ईश्वर हिंड्ने बाटो

By:  Sanjiv Rai

उर्लिरहेका थिए
एक हूल आवाजका हिंस्रक लहरहरू
आक्रोशको समूद्रमा
...
किंकर्तब्यबिमूढभई टोलाएर हेरिरहेका थिए
चालकहरू,पसलेहरू
छरपस्टिएका सिसाका टुक्राहरुमा प्रतिबिम्बित
दुःखका सग्ला-सग्ला अनुहारहरू
बिरूप देखिन्थयो
सम्भावनाको ध्वाँसे आकाश
बलिरहेका टायरहरुको ठीक माथी
कुन भोक प्यासले हो
सहरको चोक चोकमा
जिब्रो चट्काउदै थुक निलिरहेका देखिन्थे
बर्दी लगाएका बन्दुकहरू
र,उता
असफलताका थ्री पिस सुटमा ठाँटिएर
बिदेश भ्रमणमा रमाइरहेका थिए सरकार प्रमुख
मग्न थियो
दुनिया हँसाउन उनको जोकर सरकार यता
यिनिहरुप्रति ब्यङग्य लेख्ने फूर्सद
पटक्कै भएन यसपाली मलाई
तिमीसँग रमाएर हिंडिरहनमै जी ब्यस्त रहें
ईश्वर हिंड्ने प्रेमको त्यो आदिम बाटो ।