Wednesday, June 24, 2015

कायर भूकम्प

By– पञ्च विस्मृत

फूटपाथहरुमा
हजारौँ मान्छेको दु:ख्ख टाल्ने सडक धाँज फाट्छ ...
गन्तव्यतर्फ अघि बढेका कदमहरु लरखराउछन्
मनमा अँध्यारो छाएको बेला
शहर ओझ्याउने
ल्याम्पोष्टहरु समेत ढल्छन्, भूकम्पमा

जिन्दगीको हिस्सा बेचेर किनेको एउटा इँट
आफ्नै घरको पर्खालबाट झर्छ र काल बन्छ
जन्मेदेखि आश्रय दिइरहेको आफ्नै घरले
सिङ्गो परिवार निलिदिन्छ
भूकम्पमा मन्दिर मन्दिर रहन्न
देवता देवता रहन्न
बरु देवता आफूले आफैँलाई थेग्न सक्दैन
चिप्लेर झर्छ एक पत्थरजति
पूजारीको बाँझो निधारमाथि
जिन्दगी तार्ने पुल भाँचिन्छ
गोठाला जाँदा ओत लाग्ने पहाड गुल्टिन्छ
सपना फुल्ने गाउँ उजाडिन्छ
लक्ष्यको शहर नाङ्गिन्छ
ज्ञान तिखार्ने स्कूल भत्किन्छ
जीवन उत्पादन गर्ने कारखाना ढल्छ
सहकालको जमिन मासिन्छ
चराहरु उडेर जान्छन्
जसरी धूलो उडेर गएको छ आकाशमा
कुकुर बिरालोहरु अलमलमा पर्छन्
घरहीन परिवारको नियति के हो ?
संसार हल्लाउछु भन्नेहरु
हल्लिन्छन् बच्चाझैँ कोक्रोमा
करोडपति र सडकछाप एकाएक
एकसाथ
जम्मा हुन्छन्
अलपत्र भएर टेन्ट र तिरपालमुनि
एउटा कायर शत्रुजस्तो
लुकेर या कसैलाई सोध्दै नसोधि आउने यो भूकम्पलाई
देखाइदिनेथेँ आतङ्कवादको घर
एक वचन मात्र पनि
सोधेर आएको भए
आतङ्कवाद,
जो भूकम्पभन्दा पनि भयानक बनेर
मानवतावाद विरुद्ध
जाइलाग्ने गर्दछ ।

जेठ ३ २०७२

म, मेरो छोरा र पश्यताप

By : Desh  Subba

मेरो छोरा स्कूलबाट आयो
शिक्षकले सजाय दिएको सुनायो र
सम्झी सम्झी आँसु बगायो...
त्यसले चिर्यो छाती
म दुःखिरहे
उसको घाउलाई मायाले मुसारिरहें

ममताको रेखा कहाँ टुङ्गीन्छ सोचें
जब यो हिँड्छ, शीत पर्छ छातीमा
आँखामा वर्ष्षा हुन्छ
कतिपय उसको सानो प्रश्नले
मेरो फुल्दै गरेको दिमागको पुरानो रुख हल्लाउँछ
ती सानो प्रश्नको
उत्तर नपाएर हैरान हुन्छु
यस्तै जिज्ञासा खेलाउँदै
ऊ हुर्किन्छ र जवान हुन्छ
ऊ सुतेको बेला नरम हेरिरहन्छु
मायाले छोप्छु
त्यो मायाको रंग के होला सोच्छु
आज उसको आँगनमा बस्नुछ
धेरै पटक टारेको छु अनुरोधलाई
ऊ खेल्छ
ऊ मलाई बोलाउँछ र जोड्छ
यो विचित्रको अनमोल अनुभूति
विचार गर्छु कुन सुनसँग तौलौ
ऊ सानो हातले घचेटेर दौडाउँछ सानो संसार
ऊ हाँस्छ, ऊ हाँसेको हाँसोमा म हाँस्छु
हामी छुट्टै प्रकृति बनाउँछौ र खेल्छौ
मैले उसको खेल खेलें
खेल्दै सोचें मेरो साथीको छोरालाई
उसले पनि यसरी खेलाएको देखेको थिएँ
उसले पोखेको त्योबेलाको माया
मेरो अगाडि फुलिरहेको छ
म उनीहरूको छिमेकी
मैले देखेको छु सिस्नुको भात खाएर काटेका दिन
मैले सुनेको थिएँ आँसुले टालेका रात
मेरो साथीको काँधमा
अझै होला छोराले टेकेकोे घाउ
जब त्यो छोरा हुर्किन्दै गयो
त्यसमा देखियो साँढे आँट
स्वतन्त्रताको हुँकार पनि सुनिन थाल्यो
मैले परैबाट बाढी पैरोको आवाज सुन्न थालें
यो सुक्खा मौसममा उदेक हुने कुलक्ष्यण देखेर
काम्थें भित्रभित्रै
जुँगाको रेखा देखिएपछि
धमिलो आकाश साथीको परिवारमा घुम्न थाल्यो
वरपर साँढे गर्जन सुनिन थाल्यो
बिस्तारै आमाबाबाको जमिन हल्लिन थाल्यो
हेर्दा हेर्दै त्यो मुटुको टुक्रा
परिवार हान्ने भयानक साँढे बनेर निस्कियो
पहिला त उसले आमाको सुन सक्यो
अनि बाबुले पसिनाले जोडेको सम्पत्ति
उसलेबिर्सियो त्यो बाबुलाई
जसले त्यागे सपनाको काठमाण्डौं
उसले बिर्सियो ती आमालाई
जसले त्यागिन् वैंश फुलेको वनपाखा
आमाका थिए सुनका रहर
सबै रहरले सुनौलो भएका बेला
उनी टालोहरू टालिरहेकी हुन्थिन्
पियारो छोराले
आमाबाबाको वैश, सौन्दर्य सम्पत्ति, प्रतिष्ठा
सबै चुसेर खोक्रो बनायो
अनि वृद्ध वृक्ष छोडेर बाटो लाग्यो
फर्केर आएन
मसितै खेल्दै गरेको छोरा पनि
कुनै दिन यस्तै नहोला र
यसको बाढी आएको कुसमयमा
ऊ मात्र अपवाद होला र
समाजमा मडारिन्दै गरेको कालो बादलले
किन मुटु चुस्छ
घरघरमा पसेको चिसो बतासले
मकाउँदैछ सुन्दर घर र
उठाउँछ सुखको बास
सुखशान्ति तोडिन्दैछ घरआँगनमा
असल नागरिक बन्ने बच्चाहरू
सैतानको हातमा परिरहेका छन्
मैले बच्चालाई सैतान बग्ने हावावाट
कसरी जोगाउने होला
मजस्तै धेरै आमाबाबालाई हावाले खाएको छ
समयमा जोगाउन सकिएन भने
हाम्रा फूलहरूमा काँडा उम्रिनेछ, विष फल्नेछ
त्यो विष घोलिनेछ सुखको हाम्रो थालीमा
त्यो मन्दविषले हामी पहिला घायल हुनेछौ
र बिस्तारै छटपटिन्दै मर्नेछौं ।

आँधीको गीत

By: Arohi g (Jeeban Chamling)

बुज्रुक मनमा
चुटिन मात्रा बाँकी
हारिका अन्तिम डोरी झै...
किन लिलिपुटको पगरी निर्माण गर्दैछ
यो ब्रम्हणबादको अबसेस
जडसुत्रका बैशाखी हालेर ?

यहाँ
सामुन्नेबाट आइरहेका क्यास्ट्रोहर,
वा दाँयाबाँयाबाट अनुहारमा चावेजका
मुस्कानहरु आइरहेछन र
पछ्यौरामा उन्मुक्ती गीतका धुनहरु बोकेर
किसानअका खेतबारिमा
माओ रोपिरहेछन ।
खबरदार
चोमोलुङ्माको काखमा उभियर
चोमोलुङ्माकै हिमनदी छेक्न नखोज्नु ।
अर्थात आधीको बेगमा
अब तिमीले नखोज्नु बसन्ती समिर,
आँधीको बेगमा आइरहेछन
तिम्रो हिटलरी पुरातन साम्राज्य भात्काउन
'सिवान' का गाउहरु र
गाइहरेछन 'होचिमिन्ह'का स्वरमा
साम्य-साम्य रक्तिम गीत ।
समानताको गीत, संघियता र पहिचानको गीत ।
अब बिनाढिलाई
'थोराङ'को डाडामाथी निर्माण हुनेछ
तिमी बुज्रुकहरुको बधसाला ।
आधिको बेगमा
क्षितिजमा एकहुल मशाल
बसन्ती 'मुन्धुम' गाउदै
ओर्लिरहेछन ओरालो
तिम्रो हिटलरी सम्रज्यको उपत्यका जलाउन ।
ए ! बेहोसी हिटलर र मुसोलिनी हरु
तिम्रो पुरातन पैसाखी जलायर
अब खडा हुनेछ
यहाँ नयाँ युगको नयाँ धरहरा ।
जहाँ
क्षितिजमा उज्यालो कुरिरहेका पथिकहरु,
भर्खर खेतबारिबाट फर्केका किसानहरु,
वा आरोहणमा थाकेका गोडाहरु र
रङ्गिन आवाजको लस्कर
गाइरहेको होस समानताको गीत
एसबेला देश उन्तिम पटक उन्मुक्त हासोमा
सलाम गरिरहेको होस
' आँधी
बेगका किनराका यात्रीहरुलाई' ।

चियाको बुट्टा - म

By : Kabita Rai Ganule


प्रिय ,...
तिम्रो केवल एक नजरले
बर्षौ बाचेकीछु- म ।

सधै-सधैं
एउटै जिन्दगी बाँच्नुको पीडा
बाँच्नेलाई मात्र थाहा हुन्छ प्रिय ,
ठुट्टीएर पनि बुट्टा बाँच्नु पर्ने
- मेरो बाध्यता
आकाश छुने रहर भएर पनि
मुनामै टिपिएर फेरि पलाउनु पर्ने
- मेरो बाध्यता
तिमी के बुझ्थ्यौ र ?
म त चाहान्छु
तिमी यात्री भएर हैन
बरु बतास भएर आउ
मलाई मसार...
अनि चुम
मेरो प्रतेक अंग-अंगलाई
गाउ एउटा गीत मीठो धुन मिलाएर
.....मेरो नाममा,
बल्ल थाहा हुनेछ तिमीलाई
बगान भित्र कैद
मेरो जीवन लय
अनि
महशुस हुनेछ तिमीलाई
चियाबारीको
मेरो
अपुरो ठुट्टे जिन्दगी......
अधुरो बुट्टे जिन्दगी ....!

मेरी याङ्सिला र घर

By : रिना बम्जन 'तामाङ'

प्रकृतिले लुटेको...
बैशाख बाह्रसँगै
बस्तीहरूमा
ठूलो
मानव नरसंहार
लाशहरूको लस्कर
सपनाहरूको
निमेषमै
कन्त बिजोक ।

हूरीले खच्याखुच्युक
बनाएको,
मुसलधारे बर्षाले
निथ्रूक्क भिजेको पालमुनि
क, ख, ग गर्दै
सिसाकलमको सहायताले
जिन्दगी कोर्ने कसरत गर्दैछे
खाली पानाहरूमा,
जिन्दगी पढ्ने सपना देख्दैछे
तिर्मिर्उने स-साना अक्षरहरूमा
हो, मेरि सानी
बहिनी याङ्सिला ।
अबोध छे ऊ
प्रकृतिको कुरूप तान्डवहरूसँग
मात्रा प्रश्न गर्छे आपासँग
आपा !
हामी घरमा नबस्ने ?
आपा नाजवाफ !!
आधा मुजा फुस्किएको
आधा मुजा जोडीएको
पोलिस्टरे घाँगरमा सजिएकी
मेरी याङ्सिला,
यहिबेला
टालाटुली बटुली भन्छे-
नाना ! खेलौँ न !'
त्यही घाँगरको फेर भरि
मसिना ढुङ्गाहरू बटुल्छे
तर आधि बटुल्न नपाउँदै
आधि झरी सक्छ
घाँगरमा परेको
गरीबीको प्वालहरूबाट ।
बैशाख बाह्रसँगै
करोडौँ सपनाहरू
पोखिएका छन् यत्रतत्र
बेबारिस छन् जीवनहरू
जोर्दा, जोर्दै
टिप्दा, टिप्दै
अचानक झर्छन् आशाहरू
पोख्छन् खुशीहरू, सपनाहरू
जसरी. मेरी मायालु याङ्सिलाको
घाँघरबाट झरे ढुङ्गाहरू त्रमश: ।
यी भूलभूलैयाहरूमा
नतमस्तक मेरि मायालु याङ्सिला
अन्तत: निरास भएर
दुई ढुङ्गा ठाडो उभ्याएर
घर बनाउछे
र भन्छे- आमासँग
आमा !
"यही हो हाम्रो घर ।"
आमा, मात्र
मुसुक्क मुस्कुराउनु हुन्छ
उसको कलिलो मष्तिष्कको
खुबी र पौरखको नजर अन्दाज गर्न नसक्दा ।
आमा यो पीडा बोधले
आँसु खसाल्नु हुन्छ
प्राकृतिक विपत्तिले
विछिन्न बनाएको जीवनहरूको दुखाईमा ।

भुकम्पले ढालेको आफ्नै
छरप्रष्ट घरतिर
पुलुक्क हेर्दै
बेहद पीडामा ।
आमा र आपाको
मौन प्रतित्रियाले
ऊ ठुस्किन्छे
र फेरि सोध्छे
नाना !
राम्रो छैन, मैले बनाएको घर ?
रणभूमीमा युद्द लडेर
मृत्यृ जितेको
सैनिकको बेहद खुशी जस्तै
सपना र आस्थाहरूको अग्लो सगरमाथा जस्तै
अटल र दरिलो छ
तिमीले बनाएको घर
मेरी याङ्सिला ।
म-
जवाफ फर्काउछु ।
                    

Monday, June 22, 2015

आगोले जन्मोत्सव मनाउँदैन’बाट

By : भूपाल राई

त्यागेर आफ्नो सनातन गद्दी
राज्य हाँक्न निस्किएको
कुनै मध्ययुगीन राजकुमारजस्तै
अचानक
निस्किएको छ यात्रामा
एउटा त्रिकोण झण्डा
थाहा छैन
कुन राज्य हाँक्नु छ झण्डालाई ?
अथवा टेक्नु छ
निरपेक्ष दुबोहरुको पहिचान !
र निस्किएको छ यसरी
निषेधको यात्रामा
घुमाउँदै चन्द्र–सूर्यको
सुदर्शन चक्र
अटलसिं इतिहासको गर्धनमा
किन फहराइरहेछ गोरखा दरबारको धङधङी ?
र काट्तै पहिचानको उर्ध्वगामी टाउको
किन उत्रिरहेछ धर्मयुद्धमा
राष्ट्रिय झण्डा ?
कहाँ पुग्ला यो ?
यसरी मान्छेको विरुद्ध
काटेर मान्छेकै पखेटा !
कहाँ पुग्ला ?
दस लाख दुबोहरुको गिँडमाथि
चलाएर बिसे नगर्चीकालीन तरवार !
र कहाँ पुग्ला ?
साढे सत्र लाख मैदानको छातीमा
उभिएर अखण्ड अञ्चल !
मध्ययुगीन राजकुमारजस्तै
जो मात्र एकतर्फी यात्राको लागि
गर्छ यात्रा
के त्यही हो राष्ट्रिय झण्डा ?
झोसेर वंशज–आगोको वृक्ष
जो हुर्किरहेछ
नानीहरुको खाली गिदीमा
खै कहाँ छ त्यो चन्द्रवंशको स्थुल जरा
नानीहरुको माटोमा ?
कहाँ छ सूर्यवंशको इतिहास
तिनीहरुको माटोको किताबमा ?
तैपनि किन उत्रिन्छ
फेरि तिनीहरुकै विरुद्ध
मात्तिएर एक मिटर रङ्गीन कपडा !
के त्यही हो राष्ट्रिय झण्डा ?
र अखण्डताको नाममा
पर … पर …
जो फहराउँछ
नानीहरुकै पहिचानविरुद्ध
के त्यही हो राष्ट्रिय झण्डा ?
ओ ! सुरक्षा निकाय
प्रशासन
अदालत
र अखण्ड सरदारहरु
ठीक उल्टो यात्रामा उन्मुख छ
यतिखेर राष्ट्रिय झण्डा
जो क्रमशः फर्किरहेको छ
पृथ्वी राजमार्ग हुँदै
गोरखा दरबारको अतीततिर
कृपया, रोक त्यहीँनिर झण्डालाई
र आसीन गराऊ
एक नयाँ गद्दिमाथि
नत्र छुट्टिने छन्
यति लामो अन्तरालपछि
मान्छे र झण्डा
र उठ्नेछन् केही प्रश्नहरु –
‘कि रोकेर त्यही विन्दुबाट
विभेदको उल्टो यात्रा
किन हुन सकेन राष्ट्रिय झण्डा जस्तो
राष्ट्रिय झण्डा ?
किन विचाराधीन छ
यतिखेर राष्ट्रिय झण्डा ?’

हामी थाकेका छौं तर हारेका छैनौं

By :

त्यो समयपीड़ा नै थियो जसले थामेको थियो
यौटा आदिम डरको खुनी आकाश ।
त्यो पीड़ाको नाममा कुनै शब्द उम्रिएन ।
त्यो पीड़ाको अनुहारमा बस
हल्लिरहेको सहर थियो ।
हल्लिरहेको बस्ती थियो ।
हल्लिरहेको हिमाल थियो ।
पागल घोड़ाको टाप सुनेपछि
बचेखुचेका मुटुहरू आफ्नै गला रेटिरहेका छन् ।
छोरा गुमाएको बाबुको हृदयको कम्पन नाप्ने खै कहाँ छ यन्त्र ?
आँसुको सागरमा डुबेको छ समस्त ज्ञानको नाउ ।
असुरक्षित समयको बगरमा पल्टिएका छन्
प्रकृतिको काँचो पाउले कुल्चिएका समवेदनाका लाशहरू ।
हल्लिरहेको पृथ्वीभन्दा हल्लिरहेको मन
कत्ति खतरनाक देखिएको छ यत्तिखेर ।
हल्लिएर ढलेका घरभन्दा क्षत-विक्षत छन्
हल्लिएर ढलेका मान्छेका सपनाहरू ।
सारा-सारा गीत
सारा-सारा आवाज
सारा-सारा भावना
प्रकृतिको मूडसामु कुरूप बनेको अवस्था हो एकाएक ।
सड़कछाप भोकले रेटेको छ समस्त दर्शनको गला
शून्य आँखाको नानीमा ।
इमानहीन लोभले फुल्याउँछ जब निष्ठुर फना
साँपभन्दा डरलाग्दो देखिन्छ मान्छेको मन ।
भीरको फूललाई आत्महत्याको इच्छा हुन्छ
जब भीरले उसलाई भीरबाट ओर्लिनू भन्ने आदेश दिन्छ ।
निर्माणकालको बालक मुलुकको चेतनामा जब
वास बसेको हो डरछेरूवा डर
ध्वस्त भएको हो
स्वाभिमानको धरहरा ।
थाकेका छन् मन ।
अनुहारहरू पुरिएका छन् दुख्न भुलिएका चोटहरूले ।
आँखा ढाकेको छ मौन चित्कारले ।
हातहरू लतपत छ जमिएको चिसो खुनले ।
अट्टेरी पाइलाहरू चर्किएका बाटोमा
अघि बढ़िरहेका छन् यत्तिखेर गरप-गरप-गरप ।
च्यातिएको गाउँको छात्तीमा भग्नावशेषबाट उम्रिएको छ
कहिल्यै हार नमान्ने मान्छेको सपनाको पानीधारा ।
धुलो सोहोर्दै खेतमा घस्रिरहेको आलुको बीउले पर्खिएको छ
क्रूर रातलाई निद्रा लागेको समय ।
यत्तिखेर अशान्त एभरेष्टबाट
आएका आवारा हावाका झोंक्काले काँधमा खिलेका छन्
सिन्धुपाल्चोक कोदारी गोर्खा पाटनका आकाशभरि
भुइँचालोमा मारिनुको नाममा
एक-एक गीतको उपहार ।
र अहिले १० रिक्टरको वेगमा हल्लिएको विश्वासको फूल
शान्त छ
अर्द्धमुदित बुद्धको आँखाजस्तै ।
भत्किएको शहरको थुप्रो चिर्दै टाउको उठाउँछ
एउटा सिँगाने बालक
जसले बोकेको छ एक हातमा चन्द्र, अर्कोमा सूर्य ।
रोइरहेको भक्तपुरको अनाम कलाकारको छायाँसँग
सुइसुइला लगाउँदै जसले भनिरहेको छ –
हामी थाकेका छौँ
तर हारेका छैनौँ ।

पुनियानी भारतका खसनेपाली भाषाका कवि हुन् ।

भूँचालोपछि धरान

By :

घर–घरलाई
सख्खारै मन्त्र फुक्न
कंगारुझैँ गुड्कँदै आउँथ्यो सूर्य
ऊ रैनछ अब ।
फकलैण्डमा लडेको कप्तान
र थियो छातीमा तक्मा
ऊ पनि रैनछ अब ।
बसपार्कमा थिई
माग्ने एउटी अपाहिज ‘हेलेन केलेर’
ऊ पनि रैनछे अब ।
स्म्याक खान पैसा माग्ने
एउटा छोरो थियो
ऊ पनि रैनछ अब ।
प्रेमिकालाई समेत घाँडो भाको
बेरोजगार युवा कवि थियो
ऊ पनि रैनछ अब ।
लडाइँबाट नफिरेको लोग्ने कुर्दी
अधबैँसे ‘मनमाया’ थिई
ऊ पनि रैनछे अब ।
फिस्स हाँसेर
एयर होस्टेसजस्तो सिउर झुकाएको
एउटा धरानगेट थियो
त्यो पनि रैनछ अब ।
हरेक साँझ छे’माको तोङ्गवा चुसेर
मार्क्स–नित्सेको टावर चढ्ने
एउटा विद्यार्थी नेता थियो
ऊ पनि रैनछ अब ।
मन्दिर थियो
जसमा जोडी–बेजोडी भक्तहरू
घन्टझैँ बज्दैथिए ।
चोक थियो
जसमा ढेसिएर लस्करै
कानेखुसी गर्दा घरहरू थिए ।
ओथारो बसेको मेरो स्कुल थियो
जसमा ‘भोलि’लाई रुँगेका
कलिला चल्लाहरु हुर्कँदै थिए
र ब्ल्याकबोर्डमा
चकझैँ खिइएका गुरुहरू थिए ।
जे थियो, थियो
भुइँचालोअघि थुप्रै थुप्रै थियो ।…..

बाँदर, मदारी र हामी

By:
रावत

अनारकली…
रामकली…
या यस्तै कुनै ‘कली’ नाम पाएकी
बाँदर्नीले
पहिरिएर दुरुस्त मान्छेको लुगा
नाच्छे–
डिमिडिमि, डिमिडिमि, डिमिडिमि
डमरूको तालमा ।
त्यस्तै,
धर्मेन्दर…
जितेन्दर…
या यस्तै–यस्तै उपनाम पाएको बाँदर
काँधमा लौरो बोकेर
गरिटोपल्छ चौकीदारी
गरिटोपल्छ माया
गइटोपल्छ ससुराली ।
प्रतिक्रियामा हामी
हाँस्छौं, दुःख लुकाएर
ताली दिन्छौं, गाली लुकाएर
यथार्थमा तिनले
टोपलेका मात्र हुन्
सत्य त–
बाँदरको काम बिगार्नु हो ।
तर सरोकार छैन हामीलाई
बाँदरको पूर्वकथा, मध्यकथा या अन्त्यसँग
सरोकार छैन हामीलाई
मदारीको नाम, थर या वतनसँग पनि 
दीर्घकालीन दुःख साँचेर
बाँचेका हामीहरू
केवल साट्छौं–
चानचुन नोटसँग क्षणिक हाँसो ।
प्रिय, रमिते मित्र !
यो पहिले पहिलेको दृश्य हो
जसका बाँदरहरू
कहाँकहाँ गइसके होलान् !
जसका मदारीहरू
कहाँकहाँ पुगिसके होलान् !
हामी भने
अझैसम्म त्यहीँ छौं
जहाँ बाँदर र मदारीले छाडी गएका थिए ।
फरक यत्ति भो कि–
अचेल हामी
भोट दिएर रमिता हेर्छौं ।

म मरेको छैन

By :

पहाड झरेको छ ममाथि
घर भत्किएको छ
ढुङ्गा माटोले पुरिएको छु म
छुट्टिन लागेका छन् शरीरबाट –
हात, खुट्टा र टाउको
घोचिएको छ काठका चोइटाले
कोखा, तिघ्रा र कम्मर
नङको फेद, गीजा र कुर्कुच्चाबाट
बगेको छ रगत
गाँठो परेको छ श्वासनली
र रोकिएको छ सास
कालो पर्दा खसेको छ आँखामा
दलिएको छ अनुहारमा फुस्रो रङ
तर म अझै मरेको छैन
मैले आय्या पनि भनिनँ
र दुखेन यै पटक मलाई फेरि
अर्थात् दुखेको अनुभूत नै गर्न पाइनँ
मैले जान्छु है भनिनँ
र भन्न पनि भ्याइनँ
अर्थात् म यहीँ छु
नजिकै छु
म अझै गएको छैन कतै
साँच्ची भन्नुपर्दा
तिमीले मलाई कैले देखेनौ
मैले कति बोलाएको हो कैले सुनेनौ
मैले भेट्न चाहेँ तिमीले कैले चाहेनौ
भो अब नखन मलाई
मेरोबारेमा नसोध
मलाई नखोज
म हराएको छैन
मलाई चाहिएन राहत
तिमी नै राख
नदेऊ मलाई सहानुभूति
चाहिएन श्रद्धाञ्जली
म मरेको छैन
म जहाँ छु ठिक छु
तर –
के तिमी जहाँ छौ ठिक छौ ?
के तिमीले जे गरिरहेका छौ ठिक गरिरहेका छौ ?
के तिमी बाँचिरहेको प्रमाण छ तिमीसँग ?
डुङडुङती किन गन्हाइरहेको तिमी ?
बेवारिसे पुरिएको त म हुँ
ए सरकार
होशियार !
बर्खायाम अझै बाँकी छ
थामिएको छैन सुनकोशी
चर्किएको घरभित्र
टाङटाङ टुङटुङ ठोक्किएर
खाली प्लेटहरु
आइरहेको छ परकम्प
र बढ्दैछ भयावहता ।

By- साँझ किराती


ऊ साह्रै खराब छ
यसो पनि के भनिहाल्नु !
यो दुनियाँमा झुठो बोल्ने
ऊ एक्लो मान्छे हुँदै होइन
सायद सत्य बोल्नु
उकालो चढ्नु जस्तै हो क्यारे !
बरू झुट नै सही
ओरालै झरिरहन्छ,
मान्छे ।
साह्रै घाती छ ऊ
यसो त झन के भन्नु र !
यसो गर्छु भनेर त्यसो नगरेको न हो
यो दिन्छु भनेर त्यो नदिएको न हो
कुन चाहिँ ठूलो कुरो भयो, यो !
धोकाधडीमा
कुनै पे्रमी
वा पे्रमिकाले
दिनहुँ ज्यान फाल्ने यो संसारमा ।
ऊ साह्रै निठुर छ
यस्तो पनि त कसरी भन्नू ?
समय भएपछि
टुप्लुक्क आइपुग्छ आँगनीमा
परै जोडेर जुम्ल्याहा हात
टुसुक्क बस्छ पिर्कामै
फुकाउँछ पोयो दुःखसुखको
गर्छ कुरा फाटेको लुगाको
मार्छ बात् चुल्होमा बल्ने आगोको ।
मान्छे चाहिँ हो है खास्साकै !
अरुबेला जेसुकै गरुन्
जहाँसुकै रहून्
हामीलाई के मतलब ?
भिरेर आउँछ हाम्रै हुलिया
पहिरिएर आउँछ
अरबबाट फर्किनेले दिएको
कुुनै कम्पनीको नामसहितको कपडा
पाउमा उही हवाइ चप्पल !
मागेर ल्याउँछन्
वा खोसेर ?
हामी जस्तै
कोहीको,
आङबाट निस्कने पसिनाको गन्ध
साँच्चै चिन्न पो गाह्रो !
को कसको प्रतिच्छायाँ
ऊ,
वा हामी ?
त्यसैले
गाली नगर भो अब
पुग्यो,
नसराप अब उसलाई
आखिर नखाई को बाँच्छ यहाँ ?
खायो होला दुई–चार योजना !
गर्‍यो होला दायाँबायाँ
एक–दुई परियोजना !
मह काढ्यो उसले
हात चाट्यो कसले ? उसैले ।
के अचम्म भो त ?
आखिर उस्तो जाली पनि त होइन ऊ !
छली द्रोणाचार्यझैं
मागेन कुनै एकलव्यको सिङ्गै बुढीऔंला
खाली उसले माग्यो
त्यही बुढीऔंलाको मञ्जुरीनामा
बदलामा
छाती खोलेरै
ढाल्यो सिङ्गो राँगा
बगायो रक्सीको सप्तकोशी ।
अनि
कसरी हुन्छ खराब ?
कसरी हुन्छ घाती ?
कसरी हुन्छ निठूर ?
ऊ,
अर्थात् नेता ।

अझै त म हारेको छैन

By :
स्वप्निल स्मृति

अझै त म हारेको छैन
जिन्दगीको सेक्मुरी फूल
मुर्झाएको छैन !
धुलोबाट उठेको म धुलैसरी ढलेँ हुँला
यसको अर्थ फेरि कैल्यै उठ्न नसक्ने म हैन
कदम–कदममा छ कम्पन, अझै कति ढल्नु होला !
केहीछिन रोकियुँला तर हिँड्न छोड्ने छैन
अझै त म हारेको छैन
तर्सें हुँला हिउँपहिरोले शीरको चोमोलुङ्मा काँप्दा
यसको अर्थ जिउँदै छु म सातो हराएको छैन
फाट्यो होला धर्ती पनि, मनको आकाश खस्यो होला
तर, अझै जिन्दगीको बाटो हराएको छैन
अझै त म हारेको छैन

एक संकल्प

By : सागर तामाङ

_फुटेका
सपनाका टुक्राहरु बटुलेर ...
मलाई बनाउँनु छ एउटा तारा

सजाउनु छ
त्यो मनको निलो आकाशमा ।

_झरेका
आँशुका थोपाहरु अञ्जुलीमा थमाएर
मलाई बनाउँनु छ
त्यो हृदयको मझेरिमा एउटा तलाउ

फुलाउनु छ
प्रेम र सदभावका धेरै कमलहरु ।
_ढलेका
साहसहरु बटुलेर
मलाई उभ्याउनु छ संकल्पको एउटा पहाड

त्यै पहाडमा उभिएर
उठाउँनु छ
धेरै माथि-माथि
मेरो सगरमाथाको उचाई ।
_भाँचिएका
रहरका टुक्राहरु बटुलेर
मलाई बनाउँनु छ मनको एउटा चङ्गा

उडाउनु छ
क्षितिज भन्दा माथि-माथि
बादलहरुको त्यो देशमा ।
_सम्हाल्दा- सम्हाल्दै
पोखिएर झरेका
जीवनका पलहरु सँगालेर
मलाई बनाउँनु छ, समयको एउटा जहाज

त्यै जहाजमा
बोकेर
विचार, प्रेम र सदभावका कमलहरु
मलाई पुग्नु छ ती वस्तीहरुमा _
जहाँ मान्छेहरुले भेटिएका छैनन् अझै
_आफ्नै जीवनको उज्यालो बिहानी
_आफ्नै अस्तित्वको अग्लो पहाड
_आफ्नै सपनाहरुको एउटा क्षितिज

_आफ्नै विचारको फराकिलो आकाश ।

एउटा भुइँचालोे थाम्नु छ मुटुभित्र

By : Chandra Gurung

हिँडिरहेको एउटा मस्त घाम
मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निधारबाट ......
घामसँगै लडिझर्छन् उज्यालाहरू
दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरू ।
हेर्दाहेर्दै
अन्धकारको साम्राज्य फैलिन्छ
अस्त–व्यस्त दृश्यहरूको भीड लाग्छ
अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।
हर धडकनले दुःख गाइरहेको यसपल
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।

चारैतिर
विनाशको ताण्डव मच्चिन्छ
समय लरखराउँदै हिँड्छ
चोटग्रस्त बन्छन् थुप्रै सुनौला सपनाहरू
सलबलाइरहन्छन् अकाल मृत्युहरू
जीर्ण आँखाले गुमाउँछन् आफ्ना जवान ज्योतिहरू
मनभित्र फुटिरहन्छ सन्तापको ज्वालामुखी ।
यस बेवारिस वर्तमानमा
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।
यहाँवहाँ
निरीह अनुहारहरू घोचिरहन्छन् मनमस्तिष्कमा
चिन्ताग्रस्त निधारभरि फैलिन्छ निराशा
बागबगैँचातिर रुन्छ फूलको उदासी
हावा संगीतविहीन बन्छ
हिमाल–पहाड भत्किएको पहिचान ओढेर बस्छन्
खुट्टाहरू अन्योल कवाज हिँड्छन् ।
यस भग्नावशेष परिवेशमा
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।
र,
छातिभित्र सपनाहरू उजाडिएको समय
पीडाग्रस्त आकाशमा ताराहरू उज्यालो उदाएकाछन्
साँझमा ढलेको थकित घाम
बिहान क्षीतिजमा सुन्दर सजिएको छ
दुःखको पहाडमाथिबाट चियाउँदै छ चकिलो जून
झरीमा रुझ्दै विश्वासको चरी
गीत गाउँदै छ मनको कौसीमा ।
चारैतिर,
जोश–जाँगर जुरमुराउँदै छ
आशा मुस्कुराउँदै छ
विश्वास बौरिँदै छ ।
घण्टाघर अप्ठ्यारो समय बोकेर उभिएको छ !
भत्किएको घरको थुप्रोबाट जीवनहरू मुस्कुराउँदै निस्किरहेका छन् ।
भोक र प्यासलाई मात दिँदै
धूलोले पुरिएको धर्तीबाट आशाहरू उठ्दैछन्
सहयोगी हातहरूको चहलपहल छ
साथ दिने खुट्टाहरूको ओहोरदोहोर छ
चर्किएका मनहरू जोड्न विशाल सागर उर्लिएको छ ।
यस सुन्दर चित्रमा भर्नु छ–
आँट नभत्किएको रंग
आकाङ्क्षा नमेट्टिएको रंग
रहर नहराएको रंग
इच्छा नमास्सिएको रंग
भरोसा नढलेको रंग
र, जीवनको विश्वासिलो रंग ।
थुप्रै जीवन शिर उठाउँदै पुनः हिँड्न खोजिरहेछन्
यिनकै लागि
थाम्नु छ एउटा भुइँचालो मुटुभित्र ।

भुइँचालो र फूल

By : Chandra Gurung

एउटा फूल
राखिदेउ त्यो सुनसान काखमा
गएको छ निदर्यी भुइँचालो यहाँ उपद्रो मच्चाउँदै ।...
आफ्नो सन्तानको यादमा रोइरहने
उजाड मरुभूमि बनेको यो आमा मनमा
चलोस संवेदनाको बतास ।

अर्को फूल टिपेर
सिउरिदेउ त्यो तरुनीको केशराशिमा ।
बेपत्ता प्रेमीको यादमा तडपिरहने एक्लो साँझ,
चकनाचूर सपना, र
मरणासन्न बनेको रहरलाई
हुनेछ अलिकति साथ ।
एउटा अर्को फूल
सजाइदेउ त्यो साथीको छातिमाथि देब्रे खल्तीमा ।
हराइरहेका बा–आमा पर्खिरहेका व्यग्र आँखा
आशिर्वाद लुटिएको शिर, र
रंग खोसिएको इन्द्रेणी जस्तो मुहारमा
कोरिने छ एक धर्को आशा ।
एउटा फूल
देउ आफ्नो भत्किएको संसार टुलुटुलु हेरिरहेकालाई ।
घाइते इच्छाहरू,
सौन्दर्य मासिएको बगैँचा जस्तो ओठ, र
जीवन निर्जन बगर बनेको समयमा
भरिनेछ केही उमंग ।
एउटा फूल
देउ त्यो वृद्ध जोडीलाई
आकाशबाट एउटा चम्किलो तारा बिलाएझैँ
यिनका बूढौली आँखाका गहराइबाट ज्योति गुमेको छ , र
खुशीहरू अपहरित भएकाछन् ।
यी अँध्यारा रातहरूमा
मुस्कुराउने कोशिश गर्नेछन् जून–तारा ।
एउटा फूल चढाउ
खेतबारीसित बगेर गएका सपनाहरूलाई,
घरसित भत्केका सुखशान्तिलाई, र
जीवनबाट हराएको सुगन्धलाई ।
पक्कै, यस उपहारले घाइते क्षितिजमा
फैलिने छ थप जिजीविषा ।
र,
एउटा फूल चाहिँ
अर्पण गर माटोमुनि पुरिएका खुशीहरूका लागि ।
सुनसान मनको ओडार, र
उजाड जीवनको बगैँचा ।
हो, यी फूल गजब हुनेछन् घोर निराशामा
कोर्ने छन् थप रंगहरू ।
साथी !
यही हो समय, बाँड फूलहरू असंख्य–
दया र मायाको फूल
भरोसा र विश्वासको फूल
मन र मानवताको फूल ।
बाँडेनौँ भने अहिले, ओइली जानेछन् व्यर्थै
हृदयको गमलामा हुर्किरहेका
यी सुन्दर फूलहरू ।

"मृत्यृलाई जितेकी छु"...

By : रिना बम्जन 'तामाङ

शालीन धर्तीमाता
जब, अचानक
थर्थराउदै काँप्न थाल्छन्
अनि
सृष्टि र सिर्जना
निमेषमै
भताभुङ्ग भएर
भग्नावशेषमा परिणत हुन्छ
र,
कायल बन्छ धरमर
बाँकी अंशहरू ।

हो,
त्यहि बाँकी अंशभित्रको
लाचार/ घायल मान्छे हुँ 'म',
अचेल,
मृत्यृले हरघडी जिस्काइरहन्छ,
मनमर्जी खेलाईरहन्छ
भूकम्प बनेर
तर्साइरहन्छ ।
जब मेरो मानव
जीवनअस्तित्व
मेटिदिन खोज्छ
भूकम्प बनेर मृत्यृहरू
म,
जीवनलीलाको अन्तिम
दस्तावेजमा
निशङ्कोच
हस्ताक्षर गर्न राजि हुन्छु
आत्माविश्वास/ आत्मासमर्पणकासाथ
तर
अँह !
ऊ,मार्दैन मलाइ ।
अन्तिममा,
फ्यात्त फ्याकिदिन्छ
च्यातेको/फाटेको धर्तीमाथि
म, फेरि
जीवन मोहले
तड्पिन्छु/ छट्पटिन्छु,
मृत्यृ भयले
आँतिन्छु र भाग्न खोज्छु कतै ।
मृत्यृ ताण्डवले निमोठेका
कयौं अबोध जीवनहरू
बिस्कुनसरी
यत्रतत्र लम्पसार छन्
बेग्र शरिर, बिक्षिप्त छाती, शिथिल आँखा
बाँधेर साहसका किलाहरूमा
लड्छु भन्छु-
यो प्रकृति बदशालाभित्र
ऊ, पुन:भूकम्प बनेर हल्लिदै
लडाउन खोज्छ/ मार्न खोज्छ
मेरो भरोसा र आँटहरूलाई ।
उ,,, त्यो प....रको
भग्नावशेषबाट
यौटा चित्कार
गुन्जयमान भैरहेछ
बचाउ बचाउ...!,
म केहि गर्न सक्दिन्
जीवनको भीख मागिरहेकोहरूलाई ।
टेकेको धर्ति फाटिदिन्छ/हल्लिदिन्छ
वरिवरि, जताततै सारालाई
मृत्यृ नङ्ग्राले कोतर्न खोजिरहन्छ
मृत्यृ दाराले चपाउन खोजिरहन्छ
बस, यतिखेर
म मृत्यृ, मृत्यृ देखिरहेछु ।
हो, मैले मृत्यृलाई
यसरी
नजिकबाट चिहाएकी छु
कयौं पटक सम्झौता गरेकी छु
लडेकी छु मृत्यृसँग
र फेरि उठेकोछु
चोमोलुङ्मा भएर
अब,
बिस्तारै बिस्तारै
मृत्यृ भयलाई पचाएकी छु
मैले मृत्यृलाई जितेकी छु,
हो,
म, अब मर्न डराउदिन ।
मैले मृत्यृलाई जितेकी छु ।
 

घरभित्र एउटा घर

By :
.......
विप्लव ढकाल
हाम्रो घर एउटै छ !
यो घरको सुनको छानो एउटै छ
हरियो आँगन एउटै छ, रङ्गीन फूलबारी एउटै छ
तर बाबा र मामुले हेर्ने ऐनाहरु छुट्टै छन् !
बाबा र मामु सुत्ने ओछ्यानहरु छुट्टै छन् !
.......
हाम्रो घरभित्र पस्ने बाटो पनि एउटै छ !
त्यही बाटोमा हिँड्दै
अफिसबाट आएर बाबा घरभित्र पस्दा
मामु सधैँ घरबाहिर निस्किनुहुन्छ !
मामुले भ¥याङ उक्लिँदै गर्दा
बाबा त्यही भ¥याङका सिँढीहरु ओर्लिनुहुन्छ !
.......
‘अब यो पुतली नखेल छोरी,
योभन्दा राम्रो पुतली त म किनिदिन्छु’
भन्नुहुन्छ मामु !
‘अब यो नाना नलगाऊ नानू,
योभन्दा सुन्दर नाना त म किनिदिन्छु’
भन्नुहुन्छ बाबा !!
.......
‘तिम्री मामु— मामु होइन,
ऊ त रगत खाने किचकन्नी हो
ऊसँग कहिल्यै नबोल्नू’ भन्नुहुन्छ बाबा !
‘तिम्रो बाबा— बाबा नै होइन,
ऊ त मान्छे खाने सैतान हो
ऊसँग कतै पनि नहिँड्नू’ भन्नुहुन्छ मामु !
.......
तर मलाई मेरी मामु— मामु जस्तै लाग्छ !
मलाई मेरो बाबा पनि— बाबा जस्तै लाग्छ !
मलाई उहाँहरु दुवै जनाको उत्तिकै माया लाग्छ
त्यसैले म यो भया¥ङको बीचमा
सधैँ एक्लै उभिइरहन्छु !
कि यही ढोकाको सँघारमा बसेर
पुतलीको आँखामा हेरिरहन्छु !
.......
हाम्रो घरभित्र एउटा घर छ !
यो घरमा— मामुले किनेका पुतलीका नानाहरु
एउटा अँध्यारो कुनामा फालिएका छन् !
यो घरमा— बाबाले किनिदिएका पुतलीहरु
अर्को अँध्यारो कुनामा लुकेर रोइरहेका छन् !
म पनि त पुतलीको आँखामा हेर्दै
एक्लै एक्लै रोइरहेकी छु !
.......
हामीले रोएको आँसुको दहमा
घरको छाया नै उल्टो छ निरा !
हिमालको शिर नै उल्टो छ,
आकाशको पैताला उल्टो छ !
के बाबाले किनिदिएको पुतलीलाई
मामुले किनिदिएको नाना लगाइदिन मिल्दैन ?
.......
(२०७२ असार ७ गते)

बुढो माझी र देश

By–चन्द्र गुरूङ

दिल बहादुर माझी
नारायणी वारि-पारि दिनहरू खियाउँछ ...
पानीकै गाउँतिर रमाउँछ
पानीकै गल्लीे-गल्ली डुल्छ ।
बिताउँछ-
रंगहीन/स्वादहीन/आकारहीन
पानी जस्तै जीवन ।

झुपरीको निँदालमा
बुढो रेडियो घ्यारघ्यराइरहन्छ-
अक्कासिएको महँगी
अस्तव्यस्त कुशासन
छरपष्टिएका बेथिती समाचार ।
अर्को कुनामा
दिल बहादुर पेरुङ्गे मनभरि छोपिरहन्छ
जीवनको आकाशमा रहरका चङ्गाहरू उडाउँदै
नारायणी तरेर गएकाहरू, जो-
जप्दै छन् ओँठभरि देश
भर्दै छन् अँगालोभरि देश
रसाउँदै छन् आँखाभरि देश ।
यो देश
चोक चोकमा आक्रोश चिच्याउँछ
सडकहरूमा बन्द-हडताल हिँड्छ
र, बिताउँछ संक्रमणकाल ।
दिल बहादुर माझी
नारायणी किनारमा कोरिरहन्छ क्यानभास-
घरकुरुवा वृद्ध आँखाहरू
अधुरो सुहागरात पर्खीरहेका यौवनपूर्ण रातहरू
बाका चुम्बन थाप्न आतुर कलिला गालाहरू ।
यो देश
थुप्रै-थुप्रैसित आफ्नो सिमाना नाघेर जान्छ
थुप्रै-थुप्रैसित आफ्नै आँगनमा अभाव बाँचिरहन्छ
र, एउटा भरिया चिन्ता बोकेर शहर पस्छ ।
दिल बहादुर माझी
नरायाणी किनारमा अनेक तर्कनाको माछीजाल बुन्दै बस्छ-
हूलका हूल अभावग्रस्त जीवनहरू
परदेशमा बग्ने रगतपसिना
विरानो रणमा ‘‘आयो गोर्खाली’’को गीत
रेडलाईट एरियाको अँध्यारो ।
दिल बहादुर माझी
खुम्चिएको निधारको एउटा भूगोल उचाल्दै सुस्ताउँछ थकान ।
सक्ने भए फनक्क फर्काइदिन्थे
बाटोमा छेकबार लाइदिन्थे
पीडाको गहिरो नारायणी तर्दै परदेशिएका छन् जो-
सजाउँदै हृदयको भित्ता भित्तामा देश
उचाल्दै शिरमाथि देश
टाँस्दै मनमस्तिष्कमा देश ।
देश चाहिँ
गहिरो दुखिरहन्छ बुढो माझीको छातिमा जस्तै
असंख्य असंख्य मुटुहरूमा
...छप्ल्याङ ...छुप्लुङ
...छप्ल्याङ ...छुप्लुङ ।

ए पाक्मा ( कविता)


By : आश्रय रवि

ए पाक्मा
कति घुर्क्याउँछौ
कति रिसाउँछौ...
यो ताङ्साङसँग
सबै छुट छ तिमीलाई
पोखिन्छु झरी बनेर
अनि भिजाउँछु तिमीलाई।

तिम्रै लागि भनी
जून तारा
हाम्रै लागि भनी
सपना
हजारौं बोकेर
हिडिरहे उकाली ओराली
चढिरहे जीवनका खुट्किलाहरु
सपनाको आधार शिविरमा
पुगौँला भनेर।।।
अचानक देउरालीमा
तिमीलाई भेटे
बादलले ढाकेको मनपनि
जब घमाईलो भयो
परिचय भयो
विस्तारै प्रेमको वृक्ष झाङ्गियो
अनि सुरुवात भो
जीवनको दोस्रो अध्याय।।।
चल्दै गयो जिन्दगी
समयको कम्पासमा
तौलिदै ल्यायो समयले
जिन्दगीको तराजुमा
कहिले तल कहिले माथी
बोकेकै थिए कर्तव्य
थामेकै थिए पुर्खाको विरासत
तर,
कसरी?
ए पाक्मा
अचानक तिमीले नै
दु:खै-दु:खले
कुचिएको निधारमा
युप्पालुङले हानेर जाँदा
अलिकति दबिएछ
विभेदले थिचिएको नाक।
शब्दको अर्थ लिम्बू भाषामा
पाक्मा:-कान्छी
ताङ्साङ:-आकाश
युप्पालुङ:- विवाह लगनमा फेदाङबाले(लिम्बू पुरोहित)
तुम्याङहरूको(भलाद्मी ) रोहबरमा बेहुलाले
बेहुलीको मजेत्रोमा सत्यवाचा गराएर
ढुङ्गा (लुङयाङ) बाँधिदिन्थे।
ढुङ्गाको सट्टा चाँदीको सिक्का बाँध्न
थालेपछि युप्पालुङ भनिन थालियो।
बाँधिएको उक्त ढुङ्गासँग फेदाङबाले यस्तो सत्य
वाचा बाँधिदिन्थे–
‘यदि श्रीमतीले
लोग्नेसँग घरजम गरिखान
नसकेमा श्रीमतीले
लोग्नेलाई उक्त युप्पालुङले
लोग्नेको निधारमा हानेर
गएमा श्रीमतीले लोग्ने
छाडेर गएको ठहरिनेछ।'
 

हो-चि-मिन्हलाई चिठी


By : भूपि शेरचन 
आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रे हिमालको छायामा उभिएर
तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा हिमाल मानेर
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धुवाँझैं
बिस्तरी-बिस्तरी उठेर
मेरो अगाडी उभिरहेछ
तिम्रो बुढो पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर
मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला - 'लेते खोला'
तिमी जस्तै शान्त दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठुल्ठुला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
बाढी थामिएपछी
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले
आफुलाई भत्केको, भास्सिएको चोइटिएको पाउंछन्
मेरो 'लेते खोला' !
ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरुको बिचमा सिमरेखाहरुले
मलाई तिमीसंग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना
यो सबभन्दा माथि सच्चा जहाँ मुटुको ढुकढुकी
त्यहाँ मा तिमीसंग छु
युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काईमा बेघर भएको छु
तिम्रो प्रत्येक पूलको टुटाईमा टुटेको छु
तिम्रो प्रत्येक गोल-गोल मंगोल अनुहार भएकी
आइमाइको बेईज्जतीमा
मैले आफ्नी पत्नी दिदि-बहिनीहरुलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध-बिहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भुको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमवर्षाको छिर्का
मैले आफ्नो धरहरामाथी परेको अनुभव गरेको छु
बमवर्षाका रातहरु
मैले पनि जागरणका ट्रेन्चहरुमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरी मुढाहरु दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
तिम्रो सानो देशको ठुलो आत्माबाट
मैले आफ्नो सानो सानो आत्माभित्र
एउटा ठुलो ज्योति सल्केको पाएको छु
हनोइमाथी होइन, मान्छेमाथि बम हो,
मैले तथा मजस्तै
सारा मानिसहरुले ती बमहरुलाई
आफूमाथि पड्केको भन्ठानेका छौं
मेरो कमरेड !
मेरो हिमाल !
मेरो 'लेते खोला'
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन
जसरी डढेलोमा रुखहरु डढ्छन
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरी पलाउँछ
डढेलो पछी उम्रिने असंख्य च्याउहरुजस्तै
आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रेको छायामा उभिएर
प्रतिज्ञाजस्तो वारिपी दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
किरिया हाल्ने सामर्थ्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा

आत्महत्या गर्न बाध्य हुनेछ

Saturday, June 20, 2015

के म चुप बस्न सकूँला ?

By : Indra narthunge

म जन्मिएको साल
पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम
सरकारको बहिखातामा
र,
तीन बर्षसम्म
बेखबर हुर्किरहें ।

चार बर्षको उमेरमा
पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि
कलिलो पाखुरामा गाडेर तिखो सूई
दादुराको दर्द मिश्रित खोप
चुपचाप सहें ।

पाँचबर्ष टेकेपछि
बिद्यालयको हाजिर खातामा चढ्यो नाम
र, भाग पाएँ
लामो फल्याकको एक फिट बर्गाकार क्षेत्र
जहाँ फिँजाएर धुलोमाटो
बाँसको सिन्काले लेख्दै–मेट्दै गरिरहें
खल्र्याङखुट्टी अक्षरहरु ।

छैटौं बर्ष लाग्नै आँट्दा
साँवा अक्षरमा थपेर
बाह्रखरीको चर्को ब्याज
हेडमास्टरलाई बुझाएपछि
झुत्रो किताब थमाईयो हातमा
र, त्यसपछि
घोकिरहें सुखद भविश्यका
धुर्मैलो अभिप्साहरु ।

हरेक महिना तिरियो फी
हरेक बर्ष किनियो नयाँ किताब
कक्षा चढ्दै गएपछि
गिदी भर्दै गएपछि
फेरियो पाठसाला
फेरिए पाठ्यक्रमहरु
र,
चर्कोचर्को स्वरमा गाईयो
महाराजाहरुको आत्मश्लाघा ।

हरेक दशकमा
टिपाएँ गणकलाई नाम र थर
नसोधी लेखिदियो भाषा र धर्म
नापी आयो र नाप्यो आवादी
छुट्यो संधैलाई खर्क र पर्ती
घुर्यानैमा गाडियो पानीको पायप
धुरी सामुन्ने टाँगियो बिजुकीको तार
रेम्मातुङ मेटियो र बन्यो सामुदायिक बन
वालाखा पुरियो र ठडियो हिटी धारा ।

फेरिए सरकारहरु
फेरियो राज्य व्यवस्था
रेडियो नेपालले फुकेको समाचारमा
जनताको जीत भयो भन्ने सुनेपछि
उफ्रिएँ आँगनमा एकोहोरो
जिन्दाबादको नारा लगाउँदै ।

उमेर पुगेपछि,
रहरले पालेको जुल्फीलाई
ढाकाटोपीले घ्वाम्लाङ्ग छोपेर
दुवैकान सर्लक्क देखिएको
स्यामश्वेत तस्बिर खिचीवरी
नागरिकताको लागि दिएँ निवेदन रितपूर्वक
र,
धनीपूर्जामा उत्रिएपछि नाम
हरेक आर्थिक बर्षमा
बुझाई रहें तिरो राज्यलाई ।

हरेक चुनाबमा,
घरको भित्तोभरि टाँसियो रङ्गीबिरङ्गी पोष्टरहरु
थामाईए हातमा अपिल र घोषणापत्र
उनीहरुले भनेकै कुरा पत्याएँ
उनीहरुले चिनाएकै चिन्ह रोजें
र,
एकभारी सपनाहरु पोको पारेर
बाकसको सानो प्वालबाट खसाली दिएँ ।

बिहे गरेपछि,
लजाई लजाई छिरियो स्वास्थ्य चौकी
ओसारियो अस्थायी साधनको प्याकेट
जँचाईयो श्रीमतिको गर्भ
लगाईयो पूर्ण खोप
र,
जन्मिएपछि छोरी सिम्मा
खुवाईयो पोलियो, भिटामिन र जुकाको दबाई
अनि छोरा म्हैपाको आगमनसँगै
छिनाईयो एउटा नशा
जहाँबाट बग्ने छैन कहिल्यै
पुरुष हुनुको घमण्ड अब ।

चर्पी खनियो
चुला फेरियो
मार्सी धान फल्ने खेतमा
स्क्याभेटरलाई दाह्रा–नङ्ग्रा गाड्न दिईयो
थरिथरीका संस्था आए
समुहमा बसियो
बचत गरियो
बिऊ दिए–रोपियो
गोबरमललाई छोप भन्यो–छोपियो
जे जे उर्दी जारी भो
जम्मै मानियो
जम्मै गरियो ।

पासपोर्ट बनाईयो
भिषा लाग्यो
बन्धकी राखेर साहु कहाँ–
बाबुआमाको दुःख
श्रीमतिको हाँसो
र ,
छोराछोरीको आँशु
लागियो पर......देश
बोकेर अनन्त जिजीबिषाहरु ।

र आज,
सुरक्षा पोष्टको साँघुरो कुनामा कोच्चिएर
निकाल्दैछु जिन्दगीको हिसाब किताब
कि राज्यले ममाथि गरेको सबै प्रयोग
म माथि थोपरेको सबै बाध्यता
शासित हुनुको नाताले चुपचाप माने
परन्तु,
मेटेर बिभेदका रेखाहरु
पहिचानको क्यानभाष भित्र
नयाँ नेपालको तस्बिर कोर्ने बेला
अनाम मण्डलहरुको मण्डलीमा
धतुरो उमार्ने प्रयत्न हुँदैछ भने
के म फेरि चुप बस्न सकूँला र ?

किरात चाम्लिङ राई शब्दको शब्दार्थः
रेम्मातुङ : चिहानघारी
वालाखा : पानीपँधेरो
सिम्मा : ठूली छोरी
म्हैपा : ठूलो

Thursday, June 18, 2015

"भुकम्पलाइ प्रश्न "

By : Kaappabo Chum

खप्परको बनोट मिलेन ,
जीवन चलाउन
गिदिको धरौटी राख्न खोज्दा ...
र हापिदिए आशा ।

ए , जिन्दगी ...!
तिमी ठिक त छौ नि है ?
पत्थर नि पग्लियो
तिम्रो झट्काले ,
मुटुमा पर्‍यो
तिम्रो पराकम्पन ।
प्रीय भुकम्प ..!
तिमिलाइ कस्तो छ ?
भुकम्प -
तिमी अल्झियौ कि
म अल्झिए .. ?
तर ,
हामी अल्झ्यौ
साच्चै हामी अल्झ्यौ ।
प्रीय भुकम्प ,
के हाम्रो यात्रासँगै हो ?
भुकम्प -
मिल्दैन भन्थ्यौ गन्तव्य
तोड्दिन भन्थ्यौ समाज
तर ,म
मोडाउन खोज्दै छु
तिम्रो गन्तव्य ,
तोडाउन खोज्दैछु
तिम्रो समाजको आस्था
के तिमी राजी छौ ..?

ब्रम्हप्रसाद, म र देश

By : Indra Narthunge

पसेर 'नो हलाल' लेखिएको दोकानमा
ङिच्च हिमाल हाँसिरहेको
पौराणिक डोजरको एक किलो ज्यान
चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर
युद्ध जितेको सिपाहीको रवाफमा
ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन्
र,
देशले दलित मानेको
परदेशको सदाबहार भान्से, दमाई कान्छोलाई
अह्राउँछन् फ्राइपिनमा जात भुट्न ।
यता म,
"हलाल" लेखिएको होटलमा
प्रत्येक साँझ छिर्छु
र,
काउण्टरमा अर्डर गर्छु
देशले खान प्रतिबन्धित गरेको "लम्बुकरी"
जोसँग मेरो संस्कृती जोडिएको छ ।
तर देश,
चिल्साले खाइसकेको मुलुकी ऐन पल्टाएर
अन्तर्राष्ट्रिय कानुनसँग बाझिएको महल ब्यूँताउँदै
म गोरु खाने किरातीहरुलाई जेल हाली
मेरै खोरको पुँडी सुङ्गुर ढालेर
बिजयोत्सव उत्सब मनाई रहेछ
तिनै ब्रम्हप्रसादहरुसँग ।
शब्दार्थ :
हलाल : मुस्लिमहरुले खान वा प्रयोग गर्न मिल्ने भनी दिएको मान्यताप्राप्त चिन्ह ।
लम्बुकरी : गाई-गोरुको मासुको तरकारी

आग्रह

आश्रय रवि

 काडाँघारीको
जंगली मान्छेलाई
फूल नपठाईदिनु
महोदय
जब कि मलाई
फूलभन्दा काडाँनै
प्रिय लाग्छ
म चाहन्छु फूलको
अपमान नहोस्
अध्यारै-अध्यारो
आदिम वस्तीमा
जून तारा नपठाईदिनु
महोदय
अन्धकार नै प्रिय छ
युगौ-युगदेखि
वर्तमानसम्म
फेरि जाग्न सक्छ
उज्यालोको चेतनाहरु
म चाहन्छु हजुरको
नटुक्रियोस् गिदी
नगुमोस् ज्योति
विकृतिले बाँझो भएको
दुषित माटोमा छर्नलाई
संस्कृतिको बिउ नपठाईदिनु
महोदय
दुषित माटोको
विकृत संस्कृती नै
किन किन प्रिय लाग्छ
रगत र पसिना लत्पतिएका
खोरिया जंगलमा
अपमानित सभ्यताको
जग हाल्न नखोज्नु
महोदय
अझै जिउँदै छन
खाम्जिरी खाम्बोङ्बा