Wednesday, June 24, 2015

कायर भूकम्प

By– पञ्च विस्मृत

फूटपाथहरुमा
हजारौँ मान्छेको दु:ख्ख टाल्ने सडक धाँज फाट्छ ...
गन्तव्यतर्फ अघि बढेका कदमहरु लरखराउछन्
मनमा अँध्यारो छाएको बेला
शहर ओझ्याउने
ल्याम्पोष्टहरु समेत ढल्छन्, भूकम्पमा

जिन्दगीको हिस्सा बेचेर किनेको एउटा इँट
आफ्नै घरको पर्खालबाट झर्छ र काल बन्छ
जन्मेदेखि आश्रय दिइरहेको आफ्नै घरले
सिङ्गो परिवार निलिदिन्छ
भूकम्पमा मन्दिर मन्दिर रहन्न
देवता देवता रहन्न
बरु देवता आफूले आफैँलाई थेग्न सक्दैन
चिप्लेर झर्छ एक पत्थरजति
पूजारीको बाँझो निधारमाथि
जिन्दगी तार्ने पुल भाँचिन्छ
गोठाला जाँदा ओत लाग्ने पहाड गुल्टिन्छ
सपना फुल्ने गाउँ उजाडिन्छ
लक्ष्यको शहर नाङ्गिन्छ
ज्ञान तिखार्ने स्कूल भत्किन्छ
जीवन उत्पादन गर्ने कारखाना ढल्छ
सहकालको जमिन मासिन्छ
चराहरु उडेर जान्छन्
जसरी धूलो उडेर गएको छ आकाशमा
कुकुर बिरालोहरु अलमलमा पर्छन्
घरहीन परिवारको नियति के हो ?
संसार हल्लाउछु भन्नेहरु
हल्लिन्छन् बच्चाझैँ कोक्रोमा
करोडपति र सडकछाप एकाएक
एकसाथ
जम्मा हुन्छन्
अलपत्र भएर टेन्ट र तिरपालमुनि
एउटा कायर शत्रुजस्तो
लुकेर या कसैलाई सोध्दै नसोधि आउने यो भूकम्पलाई
देखाइदिनेथेँ आतङ्कवादको घर
एक वचन मात्र पनि
सोधेर आएको भए
आतङ्कवाद,
जो भूकम्पभन्दा पनि भयानक बनेर
मानवतावाद विरुद्ध
जाइलाग्ने गर्दछ ।

जेठ ३ २०७२

No comments:

Post a Comment