By- साँझ किराती
ऊ साह्रै खराब छ
यसो पनि के भनिहाल्नु !
यो दुनियाँमा झुठो बोल्ने
ऊ एक्लो मान्छे हुँदै होइन
सायद सत्य बोल्नु
उकालो चढ्नु जस्तै हो क्यारे !
बरू झुट नै सही
ओरालै झरिरहन्छ,
मान्छे ।
साह्रै घाती छ ऊ
यसो त झन के भन्नु र !
यसो गर्छु भनेर त्यसो नगरेको न हो
यो दिन्छु भनेर त्यो नदिएको न हो
कुन चाहिँ ठूलो कुरो भयो, यो !
धोकाधडीमा
कुनै पे्रमी
वा पे्रमिकाले
दिनहुँ ज्यान फाल्ने यो संसारमा ।
ऊ साह्रै निठुर छ
यस्तो पनि त कसरी भन्नू ?
समय भएपछि
टुप्लुक्क आइपुग्छ आँगनीमा
परै जोडेर जुम्ल्याहा हात
टुसुक्क बस्छ पिर्कामै
फुकाउँछ पोयो दुःखसुखको
गर्छ कुरा फाटेको लुगाको
मार्छ बात् चुल्होमा बल्ने आगोको ।
मान्छे चाहिँ हो है खास्साकै !
अरुबेला जेसुकै गरुन्
जहाँसुकै रहून्
हामीलाई के मतलब ?
भिरेर आउँछ हाम्रै हुलिया
पहिरिएर आउँछ
अरबबाट फर्किनेले दिएको
कुुनै कम्पनीको नामसहितको कपडा
पाउमा उही हवाइ चप्पल !
मागेर ल्याउँछन्
वा खोसेर ?
हामी जस्तै
कोहीको,
आङबाट निस्कने पसिनाको गन्ध
साँच्चै चिन्न पो गाह्रो !
को कसको प्रतिच्छायाँ
ऊ,
वा हामी ?
त्यसैले
गाली नगर भो अब
पुग्यो,
नसराप अब उसलाई
आखिर नखाई को बाँच्छ यहाँ ?
खायो होला दुई–चार योजना !
गर्यो होला दायाँबायाँ
एक–दुई परियोजना !
मह काढ्यो उसले
हात चाट्यो कसले ? उसैले ।
के अचम्म भो त ?
आखिर उस्तो जाली पनि त होइन ऊ !
छली द्रोणाचार्यझैं
मागेन कुनै एकलव्यको सिङ्गै बुढीऔंला
खाली उसले माग्यो
त्यही बुढीऔंलाको मञ्जुरीनामा
बदलामा
छाती खोलेरै
ढाल्यो सिङ्गो राँगा
बगायो रक्सीको सप्तकोशी ।
अनि
कसरी हुन्छ खराब ?
कसरी हुन्छ घाती ?
कसरी हुन्छ निठूर ?
ऊ,
अर्थात् नेता ।
No comments:
Post a Comment